यो पुरानो तस्बीर हो ।
बरहथवा, २९ असोज – सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तिया क्षेत्रमा जङ्गली हात्ती देखा परेपछि स्थानीय त्रसित बनेका छन् ।
गएराति मूर्तियाको सय बिघा र पैतालिस बिघा क्षेत्रमा अचानक देखा परेका तीनवटा हात्तीले एकैरातमा ठूलो क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति गरेको गाउँलेले बताएका छन् । धान खाएर बस्ती नजिकै पुगेको हात्तीलाई गाउँले, वन कर्मचारी र स्थानीय भएर मूर्तिया जङ्गलतर्फ भगाएका छन् । सर्लाहीमा वर्षेनि यहीयाममा जङ्गली हात्ती देखा पर्ने गरेका छन् ।
डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोषकुमार झाले धान पाक्ने समयमा प्राय हात्ती आउने गरेको बताए । अहिले आएका हात्ती पर्सा राष्ट्रिय निकुञ्जबाट यहाँ आएको हुनसक्ने अनुमान गरिएको छ ।
आफ्नो पुस्ता हिँड्ने बाटो भएर हात्ती बारम्बार हिँडिरहने वनकर्मीले बताएका छन्् । यसरी आएका हात्ती केही समयपछि पुनः फर्किएर जाने डिभिजन वन प्रमुख झाले बताउनुभयो । उहाँले हात्तीलाई जथाभावी जिस्काउँदा आक्रमक बन्ने भएकाले सचेत हुन अनुरोध गरे ।
दिनभर नजिकको जङ्गलमा सुतेर बस्ने हात्तीले रात परेपछि किसानको खेतबारीमा पसेर अन्नबाली खाइदिने र छेउछाउका घर भत्काउने गरेका छन् ।
सर्लाहीमा जङ्गल नजिक पर्ने मूर्तिया, जानकीनगर, सागरनाथ, गौरीशङ्करलगायत क्षेत्रमा वर्षेनि हात्ती आएर धनजनको क्षति गर्ने गरेका छन् ।