मलंगवा, २९ असोज – सर्लाहीमा यो वर्ष दुर्गा पूजाको मूर्ति शान्तिपूर्वक विर्सजन गरिएको छ ।
मूर्ति सेलाउन लैजाँदा गएका वर्षहरुमा विवाद भएकाले यो वर्ष स्थानीय प्रशासनले उच्च सुरक्षा सावधानी अपनाएको थियो । सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी दीपक श्रेष्ठले जिल्लाभर सौहार्दपूर्वक मूर्ति विर्सजन भएको जानकारी दिए । उनका अनुसार आइतबार ८३ ठाउँको र सोमबार छ ठाउँको मूर्ति विर्सजन गरिएको छ ।
सर्लाहीमा सदरमुकाम मलङ्गवासहित सहरबजार तथा गाउँघर क्षेत्रमा स्थापना गरिएका दुर्गा पूजाको मूर्तिलाई बागमती नदीसहित विभिन्न जलायशमा लगेर सेलाउने गरिन्छ । ट्रक, ट्याक्टरलगायतका साधनमा मूर्ति राखेर लावालस्करसहित बाजागाजा बजाएर नाँचगान गर्दै मूर्ति सेलाउन लाने गरिएको छ । त्यसरी मूर्ति विर्सजन गर्न लैजाँदा गएका वर्षहरुमा केही ठाउँमा झडपकोस्थिति सिर्जना हुने गरेको थियो ।
यो वर्ष त्यस प्रकारको अप्रिय घटना दोहोरिन नदिन सुरक्षा अधिकारीले दुर्गा पूजा समितिका पदाधिकारीसहित अन्य सरोकारवालालाई राखेर बारम्बार छलफल गरे । यो पटक मूर्ति विर्सजन गर्न लैजाँदा जिल्लास्थित प्रमुख सुरक्षा अधिकारीहरु आफै खटिए ।
गएका वर्षहरुमा विभिन्न पूजाको मूर्ति विर्सजन गर्न लैजाँदा असहजस्थिति सिर्जना भई कफ्र्यु र निषेधाज्ञा नै लगाउनु परेकाले सदरमुकाम मलङ्गवामा यो पटक उच्च सुरक्षा सावधानी अपनाइएको थियो । असहजस्थिति सिर्जना हुनसक्ने ठाउँमा बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर दुर्गा पूजाको मूर्ति विर्सजनको काम गरिएको हो ।
मलङ्गवामा तीन स्थानमा दुर्गा पूजा गरिएको र तीनै स्थानको मूर्ति आइतबार नै विर्सजन भइसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सबैको साथ सहयोगले नौ दिनसम्म भएको दुर्गा पूजा र त्यसपछि मूर्ति विर्सजनको काम सामान्यरुपमा सम्पन्न भएको उज्यालो अभियानसँग बताए ।