नवलपुर, २२ असोज – पूर्व पश्चिम राजमार्गमा काठमाडौंबाट आउने मोटरसाइकलको चाप अत्यधिक बढेको छ ।
बाढी, पहिरोले वीपी राजमार्ग अवरुद्ध बनेपछि अधिकांश व्यक्ति काठमाडौंबाट विभिन्न राजमार्ग भएर हेटौंडा निस्किएर पूर्व–पश्चिम राजमार्ग हुँदै तराईका जिल्ला आइरहेका छन् । राजमार्गको सर्लाही खण्डमा काठमाडौंबाट आएका मोटरसाइकल बाक्लै देखिन थालेका छन् ।
पर्सी बिहीबारबाट दशैँको बिदा सुरु हुने भएकाले अझै केही दिन मोटरसाइकलको संख्या अझ बढ्ने अनुमान गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवं प्रहरी निरीक्षक रजोस घिमिरेले मोटरसाइकलसहित अन्य निजी सवारीको चाप बढ्दै गएको जानकारी दिए ।
ट्राफिक प्रहरीका जिल्ला इन्चार्ज घिमिरेका अनुसार राति पनि रात्रिबस र मिनी बसको चाप बढेको छ । अघिल्ला वर्षहरु वीपी राजमार्ग भएर सार्वजनिक गाडी प्रयोग गरेर दशैँ मनाउन घर आउने कतिपयले यो वर्ष मोटरसाइकल प्रयोग गरेर घर आइरहेका छन् । मोटरसाइकल र साना सवारीको सङ्ख्या बढ्दा पूर्व–पश्चिम राजमार्गमा साबिकको भन्दा बाक्लो मात्रामा सवारी साधन दौडिरहेको देखिएको स्थानीयले बताएका छन् ।
सवारीको चाप बढेपनि सर्लाहीस्थित पूर्व–पश्चिम राजमार्गको बाँके जङ्गलस्थित लच्कासहित विभिन्न स्थानको खाल्डाखुल्डी नपुरिँदा दुर्घटनाको जोखिम बढेको छ । सवारीको चाप बढेका बेला सवारी दुर्घटनाको जोखिम पनि बढ्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।