logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नारायणखोलामा बस चलाउन खोलाको बाटो मर्मत गरिँदै


  • उज्यालो अभियान

नारायणखोला, २० असोज – सर्लाहीको सबैभन्दा दुर्गम भेगमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा बस सञ्चालनका लागि शनिबारबाट खोलाको बाटो सम्याउन सुरु गरिएको छ ।

नारायणखोला सडक सञ्जालमा नजोडिएको सर्लाहीको एक मात्रै वडा हो । यो वर्ष दशैँका बेला समेत बस नचल्दा नारायणखोलाका स्थानीयले बजार आएर किनमेल गर्न पाएका छैनन् ।

नारायणखोलाको पूर्वी भेगमा लखन्देही र पश्चिमी भेगमा डाइनी खोलाको बगर भएर आवतजावत गर्नुपर्ने बाध्यता छ । वडाध्यक्ष छेनामसिंह घिसिङले आगामी सोमबारबाट बस गुडाउन मिल्ने गरी दुईवटा जेसिबी प्र्रयोग गरेर खोलाको बाटो धमाधम मर्मत गरिरहेको जानकारी दिए ।

दशैँअघि बस सञ्चालन गर्ने तयारी भएपनि असोज १० गतेदेखि १२ गतेसम्म भएको भीषण वर्षापछि बाढी आएर खोलाको बाटो भताभुङ्ग पारेको बस व्यवसायीले बताएका छन् । अहिले बल्ल खोलामा पानी घटेपछि बाटो मर्मतको काम अघि बढाइएको हो ।

नारायणखोलाका स्थानीय वासिन्दाको किनमेल गर्ने मुख्य थलो लालबन्दी बजार हो । लालबन्दी बजारदेखि नारायणखोलाको सीमा नजिक लालबन्दी नगरपालिका–१३, पत्थरकोट छेडा गाउँसम्म सडक पुगेपनि त्यहाँदेखि उत्तर नारायणखोलातर्फ जान खोलाको बगर प्रयोग गर्नुपर्ने बाध्यता छ ।

गाडी नचल्दा नारायणखोलाको माथिल्लो भेग अर्थात् सिन्धुलीको मरिणसँग सीमा जोडिएको गाउँका वासिन्दालाई पत्थरकोटस्थित छेडा गाउँसम्म आउन तीन घण्टा भन्दा बढी समय पैदल हिँड्नुपर्ने बाध्यता छ । मुख्य चाड दशैँका बेला गाडी नचल्दा स्थानीयले गोठमा पालेको खसीबोका, कुखुरासहित अन्य कृषि उपज बिक्री गर्न पाएका छैनन् ।

पाखोबारीमा कोदो र मकै मात्रै फल्ने नारायणखोलामा दशैँ मनाउनका लागि लालबन्दी बजारबाटै चामल लानुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् । नारायणखोलामा हिउँदका केही महिना खोलाको बगरबाट बस सञ्चालन हुने गरेका छन् ।

वर्षायाममा भने कुनै पनि सवारी साधन नचल्दा स्थानीयलाई औषधि उपचार वा दैनिक उपभोग्य बस्तु खरिदका लागि लालबन्दी बजारसम्म आउन असाध्य समस्या पर्ने गरेको छ ।