सुनिल ठाकुर/उज्यालो अभियान
मलंगवा, २० असोज – सर्लाही क्रिकेट सङ्घले सर्लाही क्रिकेट लिग सिजन–२ का लागि खेलाडीको लिलामी गरेको छ ।
सदरमुकाम मलङ्गवामा आयोजना गरिएको लिलामी कार्यक्रममा सङ्घले ९० जना खेलाडीलाई लिलामी गरेको हो । लिलामीमा छवटा टिमले गोलाप्रथाबाट आ–आफ्नो मार्की खेलाडी (क्याप्टेन) सहित अन्य खेलाडीलाई टिममा सामेल गराएका छन् ।
सहभागी छवटा टिमलाई गौतमवुद्ध, माँ जानकी, सगरमाथा, कन्चनजङ्घा, अन्नपूर्ण र माच्छापुछ«े नाम दिइएको छ । ति छवटा टिमको विभिन्न सङ्घसंस्था र निकायले स्वामित्व ग्रहण गरिसकेका छन् ।
टिम गौतमबुद्धको वीज्डम कोचिङ्ग सेन्टर मलङ्गवा, माँ जानकी टिमको होटल नवरङ्ग मलङ्गवा, सगरमाथा टिमको मलङ्गवा वडा नं ४ को वडा कार्यालय, कन्चनजङ्घा टिमको सहारा पल्टिपर्पस मलङ्गवा, टिम अन्नपूर्णको रौनक इन्टरप्राइजेज मलङ्गवा र टिम माच्छापुछ«ेको सर्लाही किताब घर मलङ्गवाले स्वामित्व लिएका छन् ।
आगामी कात्तिक ३ गतेदेखि एक हप्तासम्म मलङ्गवास्थित कभर्ड हलमा हुने छ । टी–ट्वन्टी ढाँचामा हुने प्रतियोगितामा प्रत्येक टिममा १५–१५ जना खेलाडी हुने छन् ।
प्रतियोगिताको तयारी अघि बढाइसकिएको सर्लाही क्रिकेट सङ्घका अध्यक्ष एवं नेपाल क्रिकेट सङ्घ (क्यान) का केन्द्रिय सदस्य माधव कर्माचार्यले बताए । उनका अनुसार प्रतियोगिताको बिजेतालाई २१ हजार नगदसहित कप र उपबिजेतालाई १५ हजार नगदसहित दोस्रो कप प्रदान गरिने छ ।