logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चाडपर्वमा हुन छाड्यो गाउँटोलको सरसफाई


  • उज्यालो अभियान

हरिपुर, १९ असोज – दशैँ, तीहार, छठ जस्ता चाडपर्वमा गाउँभरका युवा मिलेर गाउँ, टोलको सरसफाई गर्ने परिपाटी पछिल्लो समय लोप हुँदै गएको छ ।

चाडपर्व आउनै लाग्दा सारा गाउँले मिलेर सडक सरसफाई गर्ने, लिङ्गे पिङ्ग हाल्ने, सामाजिक कूरीतिविरुद्ध नाटक देखाउने तथा साँस्कृतिक कार्यक्रम गर्ने लगायतका सामाजिक काम गर्ने गरिन्थ्यो तर पछिल्लो समय सामूहिकता र सद्भाव झल्कने त्यस्ता गतिविधि हुनै छाडेका छन् ।

युवा पुस्ता वैदेशिक रोजगारमा पलाएर भएकाले पनि गाउँघरमा यस्ता गतिविधि हुन छाडेको स्थानीयको भनाई छ । चाडपर्वमा सामूहिक कार्यक्रम गराउन अग्रसर क्लबहरु नै अहिले मास्सिसकेका छन् ।

यसरी गाउँघरमा सामूहिकता झल्काउने कार्यक्रम हुनै छाडिरहेको अवस्थामा हरिपुर नगरपालिका–७, चिताइनका स्थानीयले भने हिजो चाडपर्वलाई लक्षित गरी गाउँको सडक र जिल्लाकै ऐतिहाँसिक स्थल लक्ष्मीनाथ महादेव मन्दिर चिताइनको सरसफाई गरेका छन् ।

नजिकिँदो चाडपर्वलाई लक्षित गरी गाउँले मिलेर मन्दिर परिसर, मन्दिर छेउछाउको सडक, नजिकैको विद्यालय प्र्राङ्गण र चौतारो सरसफाई गरिएको स्थानीय राजेन्द्र धामीले जानकारी दिए ।