फाइल तस्बीर ।
हरिपुर, १८ असोज – सर्लाहीका किसानले लगाएको धान बालीमा रोग, कीराको प्रकोप बढ्न थालेको छ ।
पसाइसकेको र पसाउने बेला भएको धान बालीको बाला सुक्ने, राते रोग र विभिन्न किसिमका कीरा फट्याङग्राको प्रकोप देखिएको किसानले बताएका छन् । रोग, कीरा नियन्त्रण गर्न औषधि छिट्न सुरु गरिएको किसानले बताएका छन् । तर मौसम राम्रोसँग नउघ्रिदा किटनाशक विषादी छिट्न नपाएको किसानको भनाई छ ।
यो वर्ष आकाशे वर्षाले साथ दिँदा धान बाली राम्रो छ । बलरा, बरहथवा, बसबरिया, धनकौल, रामनगरलगायत पालिकाको नदी तटीय क्षेत्रमा भने बाढी र डुबानले धेरै किसानको धान नष्ट भएको छ । कृषि ज्ञान केन्द्र सर्लाहीले क्षतिको विवरण लिने काम भइरहेको जनाएको छ ।
यो वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएकोमा बाढी र डुबानबाट पश्चिमी बेल्टमा धेरै क्षति भएको र अहिले आएर प्राय क्षेत्रमा रोग, कीराको प्रकोप देखिएको भन्दै कृषि प्राविधिकले चिन्ता व्यक्त गरेका छन् ।
असारमा बेलैमा रोपिएको कतिपय आँश धान फाट्टफुट्ट पाक्न थालिसकेको छ । केही किसानको धान दशैँको मुख्य दिन आसपास पाक्ने अवस्थामा बाला पहेँलो भएर झुलिसकेको छ ।
मौसमविद्ले मौसमको अवस्था बिचार गरेर मात्रै धान भित्र्याउन आग्रह गर्दै आइरहेका छन् ।