रामपुर, १८ असोज – सर्लाहीको ईश्वरपुर नगरपालिका ८ रामपुरस्थित खेलमैदानमा हिजोबाट इश्वरपुर नगरपालिका वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको हिजो दिउँसो ईश्वरपुर ८ का वडाध्यक्ष श्यामबहादुर थापाको अध्यक्षता, प्रदेश सभा सदस्य उपेन्द्र महतोको प्रमुख आतिथ्यता र ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यको विशिष्ठ आतिथ्यतामा उदघाटन गरिएको हो ।
असोज २४ गतेसम्म संचालन हुने प्रतियोगितामा नगरभित्रका १५ वटै वडाले सहभागिता जनाएका छन् । प्रतियोगिताको बिजेता, उपबिजेता र तेस्रो हुने टिमले क्रमश ः५१ हजार, ३१ हजार र ११ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक जनजागृति युवा क्लब रामपुरले जनाएको छ ।
प्रतियोगितामा हिजो उदघाटन खेलमा आयोजक रामपुरलाई तीनका विरुद्ध पाँच गोल गर्दै युनिभर्सल युवा क्लब मनहर्वाले बिजयी सुरुवात गरेको छ ।
चाडपर्वकै अवसर पारेर इश्वरपुर नगरपालिकाको वडा नं. १२ कालिन्जोरमा पनि केही दिनअघि देखि बाँके खोला चौरमा नकआउट फुटबल प्रतियोगिता जारी छ ।