logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको ६ ठाउँमा यात्रु सहायता कक्ष


  • उज्यालो अभियान

मलंगवा, १७ असोज – सर्लाही प्रहरीले चाडपर्वलाई लक्षित गरी जिल्लाका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

यात्रुको सहजतालाई मध्यनजर गरी स्थापना गरिएको यात्रु सहायता कक्ष छठसम्म रहने जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख रजोस घिमिरेले जानकारी दिए । उनका अनुसार मलङ्गवा बसपार्क, नवलपुर बसपार्क, लालबन्दी ट्राफिक बिट, फूलजोर चोक, बरहथवा टिकट काउन्टर र ट्राफिक चेक पोष्ट कर्मैयामा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

चाडपर्वको समयमा यात्रा गर्दा सवारीसाधनले लिने भाडा र शान्ति सुरक्षाका अन्य विषयमा कुनै गुनासो भए यात्रुले सहायता कक्षमा रहने सुरक्षाकर्मीसँग सहयोग लिन सक्ने छन् । चाडपर्वको समयमा यात्रुको ओहोरदोहोर निकै बाक्लिने भएकाले उनीहरुलाई भाडा र सुरक्षाका सम्वन्धमा कुनै पनि प्रकारको समस्या पर्न नदिन यात्रु यहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी निरीक्षक घिमिरेले बताए ।

यात्रु सहायता कक्षको आज बिहान सदरमुकाम मलङ्गवामा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले औपचारिक उद्घाटन गरे । प्र्रमुख जिल्ला अधिकारी अधिकारीले यो वर्ष चाडपर्वकै मुखमा बाढी, पहिरो र डुबानले जताततै सडक खराब भएकाले सावधानीपूर्वक सवारी साधन सञ्चालन गर्न र यात्रुले पनि सतर्कता अपनाउन आवश्यक रहेको उल्लेख गरे ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले चाडपर्वमा ओहोरदोहोर गर्ने यात्रुसँगै अन्य सर्वसाधारणको सुरक्षाका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको बताए ।