रानिगन्ज, १६ असोज – मकवानपुरको सिस्नेरीमा पहिरोमा परेर मृत्यु भएका युवा फुटबल खेलाडी आदित्य बलम्पाकीको शव आज पाँच दिनपछि घर ल्याएर अन्त्येष्टि गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सिस्नेरीस्थित बत्सला माध्यमिक विद्यालयमा राखेर प्रशिक्षण गराइरहेको १४ वर्षमुनिका छ जना फुटबल खेलाडीको गएको शनिबार पहिरोमा परेर मृत्यु भएको अवस्थामा शव फेला परेको थियो । शनिबार बिहान फेला परेको शव सोही दिन नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंस्थित त्रिवी शिक्षण अस्पताल पु¥याइएको थियो ।
सोही अस्पतालमा पोष्टमार्टमपछि आज पाँचौं दिनमा आदित्यको शव लालबन्दी नगरपालिका–१७, रानिगन्जस्थित घर ल्याएर अन्त्येष्टि गरिएको हो । आदित्यको शव हिजै एन्फाले व्यवस्थापन गरेको हेलिकप्टरमा राखेर घर ल्याउने प्रयास गरिएको थियो ।
काठमाडौंबाट शव बोकेर उडेको हेलिकप्टर खराब मौसमका कारण सर्लाहीसम्म आउन नसकेपछि हिजो रामेछापमा अवतरण गराएर शव त्यहीँ राखिएको थियो । आज पुनः सोही हेलिकप्टरमा राखेर शव सर्लाही ल्याउने प्रयास गर्दा दिनभर हुस्सु र कुहिरो लागेर मौसम प्रतिकूल बनेपछि दिउँसो जनकपुर विमानस्थलमा अवतरण गराइएको छ ।
त्यहाँदेखि गाडीमा ल्याइएको शव रानिगन्जदेखि शवयात्रा गर्दै बागमती नदीमा पु¥याएर अन्त्येष्टि गरिएको हो । एन्फाको लापरवाहीले आदित्यको मृत्यु भएको भन्दै रानिगन्जका स्थानीयले सोमबार दिउँसो पूर्व–पश्चिम राजमार्गस्थित रानिगन्जमा दुई घन्टा चक्काजाम गरेका थिए ।
केही समयअघि मात्रै टिपरको ठक्करबाट अर्का एक छोरालाई गुमाएको बलम्पाकी परिवार आदित्यको मृत्युपछि बिक्षिप्त छ । यस घटनापछि रानिगन्जका स्थानीय पनि शोकाकुल बनेका छन् ।