logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बसपार्क संचालनका लागि पहल गर्न समिति गठन


  • उज्यालो अभियान

मलंगवा बसपार्क । (फाइल तस्बीर)

मलंगवा, १३ असोज – सर्लाही सदरमुकाम मलङ्गवामा अलपत्र अवस्थामा रहेको बसपार्क सञ्चालनका लागि पहल थालिएको छ ।

मलङ्गवा नगरपालिका–९, स्थित जिल्ला प्रहरी कार्यालय छेउमा निर्माण गरिएको बसपार्क गत वर्ष निकै तामझामका साथ उद्घाटन गरिएको थियो । उद्घाटनपछि केही दिन बसपार्कबाट बस सञ्चालन भएपनि अहिले भने बसपार्क अलपत्र अवस्थामा रहेको छ ।

बस व्यवसायीले मलङ्गवा नगरपालिका–९, स्थित पुरानो बसपार्कबाट नै बस सञ्चालन गरिरहेका छन् । सरकारले ठूलो रकम खर्चेर निर्माण गरेको बसपार्क अलपत्र रहेको र बजारको बिचमा रहेको पुरानो बसपार्कमा बस पार्किङ गरिँदा बजार नै अस्तव्यस्त बनेको गुनासो चौतर्फी आइरहेको छ ।

बसपार्क सञ्चालन गर्न नसकेको चौतर्फी आलोचनापछि मलङ्गवा नगरपालिकाले आज बिहान नगरपालिका कार्यालयमा सर्वपक्षिय भेला राखेर बसपार्क सञ्चालनार्थ आफ्नै कार्यालयका शिक्षा अधिकृत प्रमोद मण्डलको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको छ । समितिमा जनप्रतिनिधि, बस व्यवसायी, टेम्पु व्यवसायी, म्याजिक व्यवसायी, प्राविधिक कार्यालय र यातायात कार्यालयका प्रतिनिधि, नागरिक समाजका प्र्रतिनिधिलगायत सदस्य रहेका छन् ।

समितिले बसपार्क सञ्चालनका लागि सुझावसहित नगरपालिका कार्यालयलाई १० दिनभित्र प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनका आधारमा बसपार्क सञ्चालनको प्रक्रिया अघि बढाउने सहमती भएको मलङ्गवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जानकारी दिए ।

नगरप्रमुख नागेन्द्रप्रसाद यादवको अध्यक्षतामा आयोजित छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायीसहित अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।