logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बिहीबार साँझदेखिको वर्षा रोकिएन, जनजीवन प्रभावित


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी, १२ असोज – बिहीबार साँझदेखिको अविरल वर्षाले सर्लाहीसहित देशैभरको जनजीवन प्रभावित बनेको छ ।

बिहीबार साँझदेखि लगातार झरी पर्दा गर्मीबाट राहत मिलेपनि दिनचर्या भने बिथोलिएको स्थानीयले बताएका छन् । सर्लाहीमा गएराति पनि रातभर नै पानी परेको छ । वर्षाले पसाउन लागेको धान बालीलाई फाइदा पुगेको छ । तर यसैगरी पानी परिरहे धान ढल्न सुरु गर्ने चिन्ता किसानलाई छ ।

भर्खरै बेर्ना सारिएको गोलभेँडा, कोभीलगायतका तरकारी बाली भने झरीले नष्ट पारेको किसानले गुनासो गरेका छन् । असोज पहिलो साताको चर्को घाममा रोपिएको गोलभेँडाको बेर्ना अहिलेको पानीले नष्ट पारिदिएको हो ।

जिल्लाको उत्तरी भेगको लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकामा गोलभेँडाको व्यवसायिक खेती हुने गरेको छ । गोलभेँडा रोपिएको बारी पानी जमेर जलमग्न हुँदा बेर्ना सबै नष्ट भएको लालबन्दी नगरपालिका–११, हीरापुरका किसान कुमार थिङले गुनासो गरे ।

पानी नरोकिँदा पशुपालक किसानलाई वस्तुभाउका लागि घाँसपात जुटाउन समस्या परेको छ । अत्यावश्यक काम परेर यात्रामा निस्कनुपर्नेलाई पानीले सास्ती थपेको छ । खोलामा बाढी आउँदा सर्लाहीको चुरेभेगका स्थानीयले एक गाउँबाट अर्को गाउँसम्म जान सकेका छैनन् ।

जिल्लाको बागमती, लखन्देही, कालिन्जोर, फूलजोर, बाँकेलगायतका खोलामा बिहीबार रातिदेखि निरन्तर बाढी आइरहेको छ । लालबन्दी नगरपालिका–१४, नारायणखोलाका शिक्षक उत्तरकुमार गुर्मछानले निरन्तर पानी पर्दा चुरेभेगको जनजीवन असाध्य कष्टपूर्ण बनेको जानकारी दिए ।

यसैगरी पानी परिरहे चुरेभेगमा दशैँअघि खोलाको बगरबाट बस सञ्चालन हुने सम्भावना कम बन्दै गएको उहाँले गुनासो गर्नुभयो । वर्षाले पूर्वपश्चिम राजमार्गसहित अन्य भित्री पक्की सडकमा चौबिस घण्टाभित्रै अत्यधिक खाल्टाखुल्टी परेका छन् ।

ग्रामीण कच्ची सडक हिलाम्मे र जलमग्न हुँदा समस्या परेको स्थानीयले बताएका छन् । नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

मौसमविदहरुका अनुसार अहिलेको प्रणालीको असर भोली आइतबारसम्म देखिने सम्भावना छ ।