फाइल तस्बीर ।
हरिवन, ११ असोज – सर्लाहीमा गएराति देखि नै वर्षा भइरहेको छ ।
जिल्लाभर नै रातिबाट सिमसिमे वर्षा भइरहेको हो । वर्षा भएपछि गर्मी घटेको छ । असोज ५, ६ र ७ गते यो वर्षकै सबैभन्दा धेरै गर्मी खेपेका सर्लाहीवासीले अहिले भने शित्तल हुँदा राहत पाएका छन् ।
यहाँ ८ गते पनि ठूूलो पानी परेको थियो । त्यसपछि घाम चर्किएको छैन् । तीन दिनअघि खप्नै गाह्रो पर्ने गर्मी खेपेका जिल्लावासी अहिले भने मौसममा आएको बदलीपछि शित्तल हुँदा खुसी देखिएका छन् । पानी परेपछि पसाउन थालेको धान भएका किसान खुसी देखिन्छन् ।
सर्लाहीमा अहिले एकादुई ठाउँमा मात्रै धान पाकेको छ । पाकिसकेको धान पनि तत्काल नभित्र्याउन मौसमविद्ले आग्रह गरिरहेका छन् । आगामी आइतवारसम्म नै भारी वर्षा हुने अनुमान गरिएको छ ।
अहिले परेको पानीले गर्मी घटाए पनि भर्खरै सारिएको गोलभँेडा, कोभीलगायत अन्य तरकारी बालीको बेर्ना नष्ट गरेको किसानले बताएका छन् । यो पानीले तरकारीको बेर्ना सबै मर्ने किसानको चिन्ता छ ।
अझै केही दिन यस्तै मौसम रहीरहे जिल्लाको चुरेभेगका नारायणखोला, भित्रीखोला, पिपलदमार, शिर कालिन्जोरलगायत क्षेत्रमा दशैँअघि खोलाबाट बस चल्ने सम्भावना कम देखिएको छ ।
यस्तै रातिदेखिको पानीले बाँके, कालिन्जोर, फूूलजोर, लखन्देही, बागमतीलगायतका खोलामा बाढी आइरहेको छ । कालोपत्रे उप्किएर खाल्डाखुल्डी परेका र भित्री कच्ची सडक पानी जमेर जलमग्न बनेका हाम्रा संवाददाताले जनाएका छन् ।