लालबन्दी, १० असोज – असोज ५, ६ र ७ गते यो वर्षकै सबैभन्दा धेरै गर्मी खेपेका सर्लाहीवासीले अहिले भने शित्तल हुँदा राहत पाएका छन् ।
यहाँ ८ गते वर्षा भएको थियो । त्यसपछि घाम चर्किएको छैन् । आज दिनभर नै पानी पर्ने र रोकिनेक्रम चलिरह्यो । अहिले साँझपख चिसो हावा चलिरहेकाले स्थानीय वासिन्दाले सामान्य जाडोको महशुस गरिरहेका छन् ।
तीन दिनअघि खप्नै गाह्रो पर्ने गर्मी खेपेका जिल्लावासी अहिले भने मौसममा आएको बदलीपछि शित्तल हुँदा खुसी देखिएका छन् ।
पानी परेपछि पसाउन थालेको धान भएका किसान खुसी देखिन्छन् । सर्लाहीमा अहिले एकादुई ठाउँमा मात्रै धान पाकेको छ । पाकिसकेको धान पनि तत्काल नभित्र्याउन मौसमविद्ले आग्रह गरिरहेका छन् ।
आगामी आइतवारसम्म नै भारी वर्षा हुने अनुमान गरिएको छ ।
अहिले परेको पानीले गर्मी घटाए पनि भर्खरै सारिएको गोलभँेडा, कोभीलगायत अन्य तरकारी बालीको बेर्ना नष्ट गरेको किसानले बताएका छन् ।
अझै केही दिन यस्तै मौसम रहीरहे जिल्लाको चुरेभेगका नारायणखोला, भित्रीखोला, पिपलदमार, शिर कालिन्जोरलगायत क्षेत्रमा दशैँअघि खोलाबाट बस चल्ने सम्भावना कम देखिएको छ ।