नवलपुर, ०९ असोज – सर्लाहीको नवलपुरस्थित नेपाली सेनाको भैरवीदल गण पाँचकुमारी ब्यारेकले विपन्न विद्यार्थीलाई सहयोग प्रदान गरेको छ ।
सेनाले आज लालबन्दी नगरपालिका–२, स्थित ब्यारेक छेउमै रहेको पाँचकुमार प्राथमिक विद्यालय पुनर्वासलाई २० थान डेक्सबेन्च र सोही विद्यालयमा अध्ययनरत् १२० जना विद्यार्थीलाई जनही एक जोर ट्रयाक सुट र जुत्ता वितरण गरेको हो । नेपाली सेनाको मध्यपूर्वी पृतना बर्दीवासको ‘एक युनिट एउटा विद्यालयलाई सहयोग’ अवधारणा अन्तर्गत विद्यालय र विद्यार्थीलाई यस प्रकारको सहयोग प्रदान गरिएको भैरवीदल गण पाँचकुमारीका गणपति एवं प्रमुख सेनानी (कर्णेल) सूूर्यबहादुर कार्कीले जानकारी दिए ।
मध्य पूर्वी पृतनापति एवं उपरथि सुदर्शन सिलवालको प्रमुख आतिथ्यतामा विद्यालय र विद्यार्थीलाई सहयोग प्रदान गरिएको भैरवीदल गणले जनायो । गणले पुनर्वासको उक्त विद्यालयमा रङ्रोगन, धारा, शौचालय निर्माण, ग्रील जडान, वृक्षारोपणसहित विद्यार्थीको स्वास्थ्य परीक्षण, जानकारीमूूलक कक्षा सञ्चालन, शैक्षिक तथा खेलकुद सामग्री वितरणलगायत कार्यमा सहयोग गर्दै आइरहेको प्रमुख सेनानी कार्कीले बताए ।
नेपाली सेनाको मध्यपूर्वी पृतना बर्दीवासले मधेश प्रदेशका जिल्लामा विपन्न वर्गका बालबालिका अध्ययन गर्ने, भौतिक रुपले जिर्ण अवस्थामा रहेको र श्रोतसाधन कम भएको एक सामुदायिक विद्यालयलाई हरेक युनिटले स्थानीय स्रोतसाधन एवं मानवीय संशाधनको प्रयोग गरी शिक्षाको स्तर उत्थान गर्न जनहित तथा सर्वसुलभ हुने कल्याणकारी सोचका साथ ‘एक युनिट एउटा विद्यालयलाई सहयोग’ अवधारणा अघि बढाइएको पृतनापति सिलवालले बताए ।