परवानिपुर, ०४ असोज – संविधान दिवस–२०८१ को अवसर पारेर शुक्रबार बिहान लालबन्दी नगरपालिका–१६, परवानिपुरस्थित श्री ५ दीपेन्द्र सामुदायिक वनमा वृक्षरोपण गरिएको छ ।
डिभिजन वन कार्यालयको आयोजनामा वन क्षेत्रको खाली जग्गामा विभिन्न फलफूल र अन्य जातका विरुवा रोपिएको हो । वृक्षरोपणमा सहभागी जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारी, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलगायतले रोपिएको विरुवा संरक्षणमा जोड दिए ।
“रुख लगाऔँ, प्रकृति बचाऔँ” भन्ने मूल नारासहित आयोजित वृक्षरोपणमा जिल्लाका सुरक्षा प्रमुख, विभिन्न कार्यालयका प्रमुख, जनप्रतिनिधि, नागरिक अगुवा, वनकर्मी, स्थानीय वासिन्दालगायत सहभागी थिए । वृक्षरोपणमा सहभागी हुन परवानिपुर पुगेका जिल्लास्थित विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिलाई लालबन्दी नगरपालिकाले सोही क्षेत्रमा काठमाडौं विश्वविद्यालयसँग समन्वय गरी कृषि क्याम्पस स्थापनाका लागि हेरिरहेको जग्गा निरीक्षण समेत गराएको छ ।
संविधान दिवस–२०८१ का अवसरमा दिवस मूल आयोजक समितिले तीन दिनसम्म सरसफाई, प्रभातफेरी, बिरामीलाई फलफूल वितरण, झण्डोत्तोलन, रक्तदान र वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।