हरिवन, ३० भदौ – पानी परेर मौसम बदली हुँदा सर्लाहीमा गर्मी निकै कम भएको छ ।
एक सातासम्म टन्टलापुर घाम र उखरमाउलो गर्मी खेपेका जिल्लावासीले हिजो दिउँसोपख पानी परेदेखि गर्मी घटेसँगै राहत महशुस गरिरहेका छन् । यहाँ आज पनि मौसम धाम्मधुम्म भइरहेको छ । हिजो भएको पर्याप्त वर्षाले किसानलाई हर्षित बनाएको छ ।
यो पानीले पोटाउन लागेको धान बालीलाई अमृत समान काम गर्ने भन्दै किसान खुसी भएका हुन् । यो वर्ष असारदेखि नै चाहिने बेला आकाशे वर्षा भइरहेकाले धानको बोट राम्रोसँग हुर्किरहेको छ । कतैकतै राते र गोवारो रोग र कीराको सामान्य प्रकोप देखिएको पालिकाको कृषि शाखाहरुले जनाएका छन् ।
लालबन्दी नगरपालिका–१५, भित्रीखोलाका किसान कान्छामान थिङले पोटाउन लागेको धान अब यही पानीले पाक्ने भन्दै खुसी व्यक्त गरे । मौसम अनुकूल बन्दा यो वर्ष चुरेभेगका किसानले लगाएको कोदो, मकै, मास, लहरी, तिललगायतका बाली र जिल्लाभरका किसानले लगाएको उखु बाली राम्रो रहेको देखिन्छ ।
सर्लाहीमा पूर्वपश्चिम राजमार्गदेखि दक्षिणका क्षेत्रमा कुलो, नहर, पप्पसेटलगायतबाट सिँचाई सुविधा भएपनि उत्तरी भेगका आकाशे वर्षा नै कुनुपर्ने बाध्यता छ ।
यस्तै निरन्तर पानी पर्दा चुरेभेगका नारायणखोला, पिपलदमार, भित्रीखोला, शिरकालिन्जोर लगायत क्षेत्रका स्थानीय खोलाबाट बस चल्न नसकेर निराश बनिरहेका छन् ।
लालबन्दी १४ नारायणखोलाका वडाध्यक्ष छेनामसिंह घिसिङले बिचमा एक हप्ता पानी नपर्दा खोलाबाट मोटरसाइकल र ट्याक्टर चलेपनि हिजोको पानीपछि फेरि समस्या परेको जानकारी दिए ।
वडाध्यक्ष घिसिङले यसैगरी पानी परिरहे दशैँअघि खोलाबाट बस चल्न नपाउने होकी भन्ने चिन्ता पर्न थालेको बताए ।