logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जनज्योति क्याम्पसको २३ औँ क्याम्पस सभा सम्पन्न


  • उज्यालो अभियान

लालबन्दी, २९ भदौ – जनज्योति बहुमुखी क्याम्पस लालबन्दीको आज २३ औँ क्याम्पस सभा सम्पन्न भएको छ ।

क्याम्पस सभाका अध्यक्ष समेत रहेका व्यवस्थापन समिति अध्यक्ष दीपक अधिकारीको अध्यक्षता तथा मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायको प्रमुख आतिथ्यतामा क्याम्पस सभा सम्पन्न भएको हो । सभामा प्रदेश सभा सदस्य बेची लुंगेली, लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, उपमेयर कल्पनामाया पाख्रिन, नगरभित्र क्रियाशील पार्टीका प्रमुख तथा प्रतिनिधि, पूर्व अध्यक्ष, पूर्व उपाध्यक्ष, सल्लाहकार सदस्य, अक्षयकोषदाता, लेखा समितिका पदाधिकारी, क्याम्पस सभा सदस्य, उपप्रध्यापक, कर्मचारी, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा शैक्षिक सत्र २०७९/८० मा विभिन्न तहको अन्तिम परीक्षामा सर्वोत्कृष्ट अंक हाँसिल गर्ने २२ जना विद्यार्थीलाई जनही ५ हजार रुपैयाँको दरले पुरस्कृत गरिएको क्याम्पस प्रमुख उमेश तिमल्सिनाले जानकारी दिए । उक्त पुरस्कार क्याम्पसमा विभिन्न अक्षयकोषदाताले स्थापना गरेका अक्षयकोष रकमको ब्याजबाट प्राप्त रकमबाट वितरण गरिएको हो ।

क्याम्पसमा देविबन्धु थापा, कृष्णप्रसाद अधिकारी र जानदेवी अधिकारी, देविबहादुर कार्की र खड्गकुमारी कार्की, स्वर्गिय बुवा रेणुकान्त ढुंगाना र आमा सरिता ढुंगानाको सम्झनामा छोरा उमेश ढुंगाना, त्यसैगरी निर्मला देवि अधिकारी र झबेन्द्र्र साह, कृष्णप्रसाद निरौला, अक्कलकुमार भण्डारी, शालिग्राम लम्साल, दीपेन्द्र अधिकारी, मोतिलाल तातेड र खिलराज सुस्लिङ (भानु) ले अक्षयकोष स्थापना गरेका हुन् ।

यस्तै आज नै क्याम्पस सभाको अवसरमा व्यवस्थापन समितिका अध्यक्ष दीपक अधिकारीले स्वर्गिय बुवा उद्धवराज अधिकारीको स्मृतिमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरेका क्याम्पस प्रमुख तिमल्सिनाले जानकारी दिए ।