हरिपुर, २९ भदौ – सर्लाहीमा पनि आज बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
जिल्लामा स्थानीय तह, बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था र विद्यालयहरुले फरक–फरक किसिमका कार्यक्रम गरी बाल दिवस मनाएका हुन् । बाल कल्याण समाज मलंगवाको आयोजनामा शिक्षा र साक्षरताबारे अन्तरक्रियासहित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेर दिवस मनाइएको छ ।
कार्यक्रममा मधेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय, जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहलगायत उपस्थिति भए ।
बाल दिवसका अवसरमा हरिपुर नगरपालिका २ मा सामाजिक संघसंस्थासँग समन्वय गरी बालबालिकाको अधिकारका लागि र्याली निकालिएको वडाध्यक्ष निलबिक्रम थापाले बताए ।
बाल दिवसका अवसरमा जिल्लाको सबैजसो पालिकाहरुमा र्याली, अन्तरक्रिया, विभिन्न क्रियाकलाप र पुरस्कार वितरणका कार्यक्रमहरु भएका छन् ।