मलंगवा, २८ भदौ – सर्लाहीमा सदरमुकाम मलंगवा नगरपालिका र अन्य ५ वटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मलंगवा नगरपालिकामा सामान्य प्रशासन समूूहकै उपसचिव खटाएको छ । मलंगवामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा मन्त्रालयमै कार्यरत उपसचिव गणेश तामाङलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको हो ।
मलंगवामा अहिले शिक्षातर्फका उपसचिव होमनाथ सुवेदी प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् ।
यस्तै सामान्य प्रशासन मन्त्रालयले भर्खरै तालिम प्राप्त गरेर दिक्षित भएका १०० जना शाखा अधिकृतलाई विभिन्न पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाउँदा सर्लाहीमा पनि ५ पालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।
मन्त्रालयले बसबरिया गाउँपालिकामा धनन्जय प्रसाद दास, कौडेना गाउँपालिकामा कृष्णदेव राय, धनकौल गाउँपालिकामा संजीव साह, विष्णु गाउँपालिकामा ओशो कर्ण, पर्सा गाउँपालिकामा अखिलेश्वर कर्ण र रामनगर गाउँपालिकामा दीपेन्द्र प्रसाद यादवलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ । उनीहरु पाँचै जना ‘फ्रेस’ अधिकृत हुन् ।
यि पाँच पालिका यसअघि स्वास्थ्य, शिक्षालगायत अन्य शाखाका कर्मचारीले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर चलाएका थिए । प्रायः पालिकाहरुमा आफू निकटका जुनसुकै शाखाका कर्मचारीलाई निमित्त बनाएर काम गराउने र सरुवा भएर आएका प्रशासन समूहका अधिकृतलाई हाजिर नै नगराउने परिपाटी छ ।
तीन दिनअघि जिल्लाको चन्द्रनगर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा शाखा अधिकृत वकिल प्रसाद पाल हाजिर भएका थिए ।