नवलपुर, २६ भदौ – सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा चौबिस घण्टाभित्र सर्पले डसेका सात जना बिरामी भर्ना भएका छन् ।
सर्पदंश उपचार केन्द्र नवलपुरका इन्चार्ज जगर्नाथ यादवका अनुसार गएराति पाँच जना बिरामी एकैसाथ भर्ना भएकोमा पाँचै जना विष नलाग्ने अर्थात् अविषालु सर्पले डसेका बिरामी थिए । तर आज भर्ना भएका दुई जना बिरामीमध्ये दुवै जना अत्यन्त विषालु गोमन सर्पले डसेका बिरामी रहेका यादवले बताए ।
बागमती नगरपालिका–३, निवासी ६० वर्षीया सुकुमाया बोम्जनलाई कुखुरा धपाउनेक्रममा बिहान ८ः३० बजेतिर गोमन सर्पले डसेर उपचारका लागि ल्याइएको छ । आधा घण्टाभित्रै सर्पदंश उपचार केन्द्रमा ल्याइएको बोम्जनलाई एन्टिस्नेक भेनम चढाएर उपचार गरिरहेको केन्द्रका इन्चार्ज यादवले जानकारी दिए ।
यस्तै लालबन्दी नगरपालिका–५, निवासी ७० वर्षीया मैतिदेवी मोक्तानलाई घाँस काट्ने क्रममा आज दिउँसो १ः ३० बजेतिर सर्पले डसेकोमा परिवारले २० मिनेटभित्रैमा उपचार केन्द्रमा पुर्याएका छन् । मोक्तानलाई पनि एन्टिस्नेक भेनम चलाएर उपचार गरिरहेको नवलपुर सर्पदंश उपचार केन्द्रले जनायो ।
विषालु सर्पले डस्नासाथ तत्कालै उपचारका ल्याउने बिरामीलाई एन्टिस्नेक भेनम चलाएर उपचार गरिरहे पनि ढिलो गरी गम्भीर अवस्थामा ल्याइएका बिरामीलाई भने भेन्टिलेटर र आइसियुको सुविधा भएको जनकपुर वा वीरगन्ज रेफर गर्नुपर्ने बाध्यता रहेको केन्द्रका इन्चार्ज यादवले सुनाए ।
केन्द्रसँग आइसियु र भेन्टिलेटर भएपनि चलाउन जान्ने दक्ष जनशक्ति नहुँदा थन्काएर राखिएको छ । सर्पदंश उपचार केन्द्रका इन्चार्ज यादवले एक सातादेखि पानी पर्न रोकिएर गर्मी अत्यधिक बढ्दा सर्पदंशका बिरामी बढिरहेका जानकारी दिए ।
गर्मी धेरै भएको समयमा सर्प बाहिर निस्कने भएकाले सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।
राति बाहिर निस्कँदा डर्च लाइट बाल्न, खेतबारीको काम गर्दा चनाखो हुन, घर वरपर सर्प बस्ने घारि, घुर्याउन सफा गर्न विज्ञको सुझाव छ ।