logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा हर्षोउल्लासका साथ मनाइयो तीज


  • उज्यालो अभियान

लालबन्दी, २१ भदौ – हरितालिका तीज पर्व आज महिलाहरुले महादेवको पूजा आराधना गरी धुमधामसँग मनाएका छन् ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यता अनुसार तीज मनाउने चलन छ ।

हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

तीजलाई महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतमा पोख्ने पर्वका रुपमा समेत लिने गर्छन । तर तिजको नाममा पछिल्लो समय भड्किलोपन र देखासिखी बढेको भन्दै चिन्ता गर्ने गरिएको छ । तीज पर्वको अवसरमा सरकारले यो वर्ष पनि महिलालाई बिदा दिएको थियो ।

सर्लाहीमा पनि यो वर्ष आज धुमधामसँग मनाइएको छ । आज दिनभर यहाँका शिव मन्दिरहरु भिडभाड देखिथ्यो । व्रतालु महिलाले मन्दिरमा गई पूजा अर्चना गर्दै नाचगान गरेका छन् । लालबन्दीको डुमडुमे, हरिवनको कैलाशपुरी र सुखेपोखरी, ईश्वरपुरको सागरनाथ, बरहथवाको मूर्तियालगायत जिल्लाभरकै शिव मन्दिरमा महिलाहरुले नाचागानसहित हर्षोउल्लासपूर्वक यो पर्व मनाएका हाम्रा संवाददाताले जनाएका छन् । गाउँगाउँका मन्दिरमा नाचगान भए ।

पूर्व पश्चिम राजमार्गको लालबन्दी, नवलपुर, हरिवन, नयाँरोड, बागमतीलगायतका स्थानमा मन्दिरका साथसाथै चोक, बजार र विभिन्न मार्ट अगाडि पनि नाचगानका कार्यक्रम भएका छन् ।

यसैबिच, मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्व आज मनाइँदैछ । भदौ शुक्ल तृतीया तीथिको तीज व्रत र मिथिलामा भदौ शुक्ल चौथीको चन्द्रदर्शनको पर्व चौरचन आज एकैदिन परेको हो । यस वर्ष चौथी तिथि आज र भोलि छ ।

मिथिलाका ठूला पर्वमध्ये एक रहेको चौरचन पर्वमा चन्द्रमालाई पूजा गर्ने परम्परा छ । पर्वको दिन व्रतालु दिनभर उपवास बसेर बेलुकापख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्छन् ।

भाद्र शुक्ल चौथीको व्रत बसेर गरिने चन्द्रदर्शनले मित्र बढ्ने, सुख शान्ति प्राप्ति हुने लगायतका विश्वास छ ।