logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

ईश्वरपुर र हरिपुरका ६० स्थानमा बालविवाहविरुद्धको सडक नाटक प्रदर्शन


  • उज्यालो अभियान

फाइल तस्बीर ।

हरिपुर, १९ भदौ – २० वर्ष भन्दा कम उमेरमा हुने बिवाह तथा जबर्जस्ती रुपमा हुने विवाह अन्त्यका लागि सर्लाहीको हरिपुर र इश्वरपुर नगरपालिकाका ६० भन्दा बढी ठाउँमा सडक नाटक प्रदर्शन गरिएको छ ।

हरिपुरस्थित ग्रामिण नारी उत्थान संघ र सेभ द चिल्ड्रेनको साझेदारीमा सिइएफएम परियोजना मार्फत बाल तथा जवरजस्ती बिबाह रोकथाम ,न्यूनीकरण र अन्त्यका लागि विभिन्न गतिविधि सन्चालन हुँदै आएको छ । सोही परियोजना अन्तर्गत हरिपुर र ईश्वरपुरका सबै वडा र बस्तीहरुमा बाल बिवाह बिरुद्ध सडक नाटक प्रदर्शनी सम्पन्न भएको हो ।

नाटकको माध्यमबाट कम उमेरमा बिवाह गर्दा भोग्नु परेको शारीरिक समस्या, पारिवारिक तनाव र कलह, पढाइबाट बञ्चित हुँदा भोग्नु परेको कठिनाई एवं मानसिक रोग आदिको विषयलाइ संवेदनशिल ढंगले स्थानीय बजिका भाषामा सडक नाटक तयार गरि प्रस्तुत गरिएको परियोजना संयोजक सिर्जना बस्नेतले बताईन् ।

हरिपुर नगरपालिकाका २ वटा : लक्ष्मी नाथ युवा क्लव र नगर स्तरिय मुसहर महिला सशक्तिकरण मञ्च तथा ईश्वरपुर नगरपालिकाका ३ वटा : सिर्जनशिल महिला क्लब,डुपुस नेपाल,सामुदायिक बिकासको लागि युवा सहभागिता सँग संस्थागत सम्झौता गरी दुइ नगरपालिका केन्द्रित बृहद सचेतना अभियान संचालन भैरहेको छ । सोहीक्रममा ५ वटा संस्थाहरुको संयुक्त आयोजनामा हरिपुर र ईश्वरपुरको ६० ठाउँमा बाल बिवाह बिरुद्ध सडक नाटक प्रर्दशनी सम्पन्न भएको हो ।

सडक नाटक सूचना तथा सन्देस प्रवाहको प्रभावकारी माध्यम भएकाले कलाकारहरुले कलात्मक रुपमा नाटक मार्फत सचेतना फैलाउनको लागि स्थानीय संघ संस्था परिचालन गरी सडक नाटक प्रदर्शन गरिएको संस्थाका सचिव समेत रहेका परियोजनाका फोकल पर्सन सूर्यप्रसाद चालिसेले बताए ।

परियोजनाले हरिपुर नगरपालिका र ईश्वरपुर नगरपालिकालाई आधार कार्य क्षेत्र बनाएर बाल बिवाह बिरुद्ध सचेतना अभियानहरु संचालन गर्दै आएको हो ।