logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पानी पर्न रोकिँदा चर्कियो घाम, गर्मीबाट जनजीवन प्रभावित


  • उज्यालो अभियान

हरिवन, १८ भदौ – सर्लाहीमा पानी पर्न रोकिएर फेरि अत्यन्त चर्को घाम लाग्न थालेसँगै गर्मीबाट जनजीवन प्रभावित बनेको छ ।

एकानासको टन्टलापुर घामले गर्मी बढाएको हो । आज बिहानैबाट चर्को घाम लागेर हपक्क गर्मी छ । तराई क्षेत्रमा भदौभर उखरमाउलो गर्मी रहन्छ ।

असोज लागेपछि भने क्रमिक रुपमा चिसो पस्न थाल्छ । मध्य भदौमा आएर पानी पर्न रोकिँदा धान रोपेका किसान भने पानीको अभाव हुने हो कि भन्ने चिन्तामा पर्न थालेका छन् ।

कतिपय किसानको धान पोटाउन थालेको छ । कुलो, नहर लाग्ने ठाउँमा प्रशस्त पानी रहेपनि आकाशे वर्षाको पूर्ण भर रहेको क्षेत्रमा भने अब धान बालीका लागि पानी आवश्यक परेको छ । यस्तै पानी पर्न रोकिएको मौकामा जिल्लाको उत्तरी भेगका किसान भने धमाधम गोलभेँडाको बेर्ना सार्न ब्यस्त छन् ।

उत्तरी भेगको लालबन्दी, पत्थरकोट, रानीगन्ज, अत्रौली, सासापुर, घुर्कौलीसहितका क्षेत्रका किसानलाई गोलभेँडाको बेर्ना सार्ने चटारो परेको हो । अहिलेसम्म वर्षाले साथ जिल्लामा कोदो, उखु, मकै, मास, लहरीलगायतका बाली राम्रैसँग हुर्किरहेका छन् ।

पानी पर्न कम हुँदा जिल्लाको चुरेभेगको दुर्गम क्षेत्रमा पर्ने नारायणखोला, शिर कालिन्जोर, भित्री खोला, पिपलदरमालगायत क्षेत्रका स्थानीयलाई खोलाको बाटो भएर हिँड्डुलमा केही सहजता भएको छ ।

यो वर्ष तुलनात्मक रुपमा बढी वर्षा हुँदा चुरेभेगमा डाँडापाखाका बाटो धेरै भत्काएको स्थानीयले बताएका छन् ।

पानी पर्न रोकिए चुरेपाखा र खोलाको बाटो मर्मत गरेर चाडपर्वका लागि मोटरसाइकल, बस, ट्याक्टर, जिपलगायतका सवारी साधन चलाउन मिल्ने बनाउने तयारी स्थानीय तहले गरेका छन् ।