कृषि सामग्री कम्पनि नवलपुरको गोदाममा स्टक रहेको मल । (तस्बीर : उज्यालो अभियान)
नवलपुर, १६ भदौ – आवश्यकता अनुसार कोटा निर्धारण गरेर वितरण नगरिँदा सर्लाहीमा रासायनिक मल कतै पर्याप्त हुने र कतैका किसानले पाउँदै नपाउने समस्या देखिएको छ ।
कृषि सामग्री कम्पनि र साल्ट टे«डिङ कर्पोरेशनले प्रदेश सरकारबाट निर्धारण गरिएको कोटाका आधारमा पालिकाअनुसार फरक–फरक परिमाणमा मल वितरण गर्दै आइरहेका छन् । कुन पालिकालाई कति बोरा मल पठाउने भनी प्रदेश सरकारबाट निर्धारित कोटा अनुसार सरकारी अनुदानको मल कृषि सामग्री र साल्ट टे«डिङले सहकारी संस्थामार्फत वितरण गर्दै आइरहेका छन् ।
जिल्लाका किसानलाई अहिले धान गोडमेल गरेर मल हाल्ने चटारो छ । गाउँका सहकारीमा अनुदानको मल आइरहने भएपनि थोरै परिमाणमा आउने गरेकाले सबैलाई नपुगेको किसानले गुनासो गरेका छन् ।
लालबन्दी नगरपालिका–४, हरिभवनका किसान केदार कार्कीले गाउँको साना किसान कृषि सहकारी संस्थामा मुस्किलले १०० बोरा मल आउँदा एउटाले पाउने र अर्कोले नपाउने अवस्था रहेको गुनासो गरे ।
उनले एक हजार भन्दा बढी किसान रहेको क्षेत्रमा १०० बोरा मल अपुग रहेको बताए । कृषि सामग्री कम्पनिको मलले मात्रै नपुग्ने भएपछि बाहिर खुद्रा पसलबाट कम गुणस्तरको मल किनेर हाल्नुपर्ने बाध्यता रहेको कार्कीको दुःखेसो छ ।
जिल्लामा किसान धेरै रहेको क्षेत्रमा बढी परिमाणमा र कम किसान भएका क्षेत्रमा थोरै परिमाणमा मल वितरण हुने गरी कोटा निर्धारण गरेर मलखाद वितरण हुनुपर्ने आवाज उठ्ने गरेको छ तर राजनीतिक पहुँचकै आधारमा साना पालिकाले बढी मल पाउने र ठूलो पालिकाले कम पाउने अवस्था आएको गुनासो किसानले गरेका छन् । केही नेताले आफ्नो पकड र पहुँचका आधारमा केही पालिकामा मलको कोटा बढी पार्दा आवश्यकता अनुसार मल वितरण हुन नसकेको हो ।
सर्लाहीको नवलपुरमा रहेको कृषि सामग्री कम्पनि र सदरमुकाम मलङ्गवास्थित साल्ट टे«डिङ कर्पोरेशनको कार्यालयले कार्यालयलाई प्राप्त मल जतिसक्दो चाँडो सहकारीमार्फत किसानलाई वितरण गरिरहेको जनाएका छन् । दुवै कार्यालयले यो वर्ष तुलनात्मक रुपमा पर्याप्त मल आइरहेको दावी गरेका छन् । कृषि सामग्री कम्पनि नवलपुरका प्रमुख ध्रुवकुमार साहले यो वर्ष मलको अभाव नभएको दावी गरे ।
उनका अनुसार साउन १ गतेदेखि अहिलेसम्म कार्यालयले ३८ हजार ८६५ बोरा युरिया र १४ हजार १६ बोरा डिएपी मल वितरण गरिसकेको छ । कार्यालयमा भर्खरै आएर स्टकमा रहेको युरिया मल समेत अहिले धमाधम सहकारी संस्थाहरुलाई पठाइरहेको कृषि सामग्री कम्पनिको नवलपुर शाखाका प्रमुख साहले जानकारी दिए ।
कृषि सामग्री कम्पनिको तुलनामा कम मल प्राप्त गर्ने साल्ट टे«डिङ कर्पोरेशनको मलङ्गवा शाखाले साउनदेखि अहिलेसम्म युरिया १५ हजार ६६ बोरा र डिएपी चार हजार ७६८ बोरा वितरण गरिसकेको जनाएको छ । कार्यालयका प्रमुख सन्जिवकुमार झाले यो वर्ष तुलनात्मक रुपमा बढी परिमाणमा मल वितरण गरिएको बताए ।
उनले कृषि सामग्रीलाई ७० प्रतिसत मल आउँदा साल्ट टे«डिङलाई ३० प्रतिसत मात्रै आउने गरेको जानकारी दिए ।