कविलासी, १४ भदौ – नेकपा एमाले सर्लाहीले कविलासी नगरपालिका ४ हेमपुरका पूर्व वडाध्यक्ष अरविन्दकुमार यादवको दुर्घटनाका विषयमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) मार्फत अनुसन्धान गर्न माग गरेको छ ।
४३ वर्षीय यादवको भदौ ७ गते राति बरहथवा नगरपालिका–१०, किसनपुर चोकमा आफैले चलाएको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको थियो । प्रहरीले यस घटनालाई दुर्घटना भनेको छ । तर एमाले सर्लाहीले पत्यार लाग्दो दुर्घटना नभएको र सुनियोजित हिसाबले हत्या गरिएको हुनसक्ने दावी गर्दै सिआईबी मगाएर अनुसन्धान गर्न माग गरेको हो ।
एमालेका केन्द्रिय सदस्य एवं सर्लाही जिल्ला इन्चार्ज हरिप्रसाद उप्रेतीको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालय मलंगवा पुगेर प्रमुख जिल्ला अधिकारीलाई पत्र बुझाउँदै एमाले नेताहरुले अहिलेसम्म स्थानीय प्रहरीले गरेको अनुसन्धानप्रति धन्यवाद दिँदै अब केन्द्रबाटै सिआईबीको टोली मगाएर अनुसन्धान गर्न माग गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले पत्र बुझ्दै यो विषय केन्द्रमा तत्काल जानकारी गराउने उल्लेख गरे ।
पत्र बुझाउन जिल्ला इन्चार्ज उप्रेतीसहित केन्द्रिय सदस्य एवं बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमारी कटुवाल, नेता चूडामणि वाग्ले, प्रदेश कमिटी सदस्य शेष महबुब रेजा, नेतृ पार्वती विश्वकर्मालगायत जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।