logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवन र लालबन्दीका चारवटा पानी उद्योग बन्द गराइयो


  • उज्यालो अभियान

हरिवन, १४ भदौ – सर्लाहीको हरिवन र लालबन्दी नगरपालिकाका चारवटा पानी उद्योग बन्द गराइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरबाट बिहीबार अनुगमन गर्दा पानी उद्योग नवीकरण नगरिएको र विभिन्न किसिमका लापरवाही गरेको पाइएपछि उद्योग बन्द गराइएको हो ।

यि चारवटै पानी उद्योगको उत्पादन र बिक्री वितरण तत्काल बन्द गराएर प्रयोगशालामा परीक्षणका लागि पानीको नमूना सङ्कलन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका खाद्य निरीक्षक प्रविण तिवारीले जानकारी दिए । उनका अनुसार हरिवन नगरपालिका ४ मा रहेको टाइम्स ड्रिकिङ वार्टर फूड प्रोडक्ट प्रा.लि. तीन वर्षदेखि नवीकरण नभएको र उद्योगको सरसफाई पनि सन्तोषजनक नभएको पाइएको छ ।

यस्तै हरिवन नगरपालिका ४ मै रहेको सर्लाही रिफ्रेस ब्राण्डको पानी उत्पादन गर्ने जय हनुमान ड्रिङकिङ वार्टर प्रा.लि. ले पनि छ वर्षदेखि अनुज्ञा पत्र नवीकरण नगरेको पाइएको छ । अनुगमन टोलीले लालबन्दी नगरपालिका १ मा जुनैद अन्सारीले दर्ता नै नगरी अखाद्य रङ्ग हालेर कटन क्याण्डी उत्पादन गरिरहेको पाइएपछि उत्पादित कटन क्याण्डी र मेसिन समेत बरामद गरिएको छ ।

अनुगमनका क्रममा अखाद्य रङ्ग (रोडामाइन बी) हालेर कटन क्याण्डी बनाइरहेको भेटिएको छ । त्यसैगरी अनुज्ञा पत्र नै देखाउन नसकेपछि लालबन्दी नगरपालिका–२, जुटपानीमा शिरिस ब्राण्डको पानी उत्पादन गर्ने नेशनल वार्टर प्रा.लि. बन्द गराइएको छ ।

प्रशोधित पानी बनाउँदा मेसिनको प्रयोग गर्नुपर्नेमा यस उद्योगमा हातबाटै पानी भर्ने काम गर्ने गरेको पाइएको अनुगमन टोलीले जनाएको छ । जुटपानीमै तृष्णा ब्राण्डको पानी उत्पादन गर्ने शिव पार्वती वार्टर एण्ड बेभरेजले नवीकरण नगरी सञ्चालन गरेको पाइएको छ ।

बन्द गरिएका चारवटै पानी उद्योगको पानीको नमूना जनकपुर लगेर प्रयोगशालामा परीक्षण गरेपछि जाँच परीक्षण रिपोर्ट अनुसार कारवाही गरिने खाद्य निरीक्षक तिवारीले बताए । हरिवनमा रहेका पानी उद्योगले लापरवाही गरेको गुनासो आएपछि जनकपुरबाटै खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालयको टोली आएर पानी उद्योगको अनुगमन गरेको हो ।

जनकपुरसहित खाद्य प्रविधिको मलङ्गवास्थित डिभिजन कार्यालय, इलाका प्रशासन कार्यालय हरिवन, हरिवन नगरपालिकाका प्रतिनिधि, पत्रकारलगायतको उपस्थितिमा पानी उद्योगको अनुगमन गरिएको हो ।