लालबन्दी, १३ भदौ – डेङ्गु सङ्क्रमणका बिरामी बढ्न थालेपछि सर्लाहीका स्थानीय तहले सङ्क्रमण नियन्त्रणमा तदारुकता देखाउन थालेका छन् ।
स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जिल्लामा अहिले डेङ्गुका २० जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमित बढ्न थालेसँगै पालिकाका स्वास्थ्य शाखाहरुले सचेतना जगाउने र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा सक्रियता देखाउन थालेका हुन् । जिल्लाको लालबन्दी नगरपालिकाले डेङ्गु तथा किटजन्य रोग नियन्त्रण तथा निवारणका लागि बहुनिकायहरुसँग हिजो अभिमुखीकरण कार्यक्रम गरेको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक एवं जनस्वास्थ्य निरीक्षक रोशन चौधरीले लालबन्दी नगरभित्र डेङ्गु सक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी बढ्न थालेकाले सचेतना अभिवृद्धिका कार्यक्रम सुरु गरिएको जानकारी दिए । उनले नगरभित्र डेङ्गु सङ्क्रमितको अवस्था पत्ता लगाउन निजी स्वास्थ्य संस्थासँग समेत डेङ्गुका बिरामी उपचार गर्न आएमा विवरण उपलब्ध गराउन भनिएको बताए ।
चौधरीले डेङ्गु नियन्त्रणका लागि मुख्य बजार क्षेत्रमा लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने अभियान तत्कालै सुरु गरिने जानकारी दिए । अभिमुखीकरणमा लालबन्दी नगरपालिका–१३, का वडाध्यक्ष शिवकृष्ण वैद्यले आफ्नो परिवार समेत डेङ्गुबाट पीडित भइसकेको सुनाउँदै लामखुट्टेको टोकाइबाट बच्ने र घर वरपर पानी जम्न नदिने काममा लागिहाल्नुपर्नेमा जोड दिए ।
परिवारका दुई जना डेङ्गुबाट सङ्क्रमित हुँदा भरतपुरसम्म लगेर भेन्टिलेटरमा राखी उपचार गर्नुपर्दा लाखौँ खर्च भएको भन्दै उनले सङ्क्रमणबाट बच्न सबै सचेत हुनुपर्ने उल्लेख गरे । लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पनामाया पाख्रिनले आफ्नो परिवार पनि डेङ्गुबाट पीडित भइसकेको भन्दै बिरामी परेपछि पीडा र आर्थिक भार बेहोर्नु भन्दा सावधानी अपनाउनु उत्तम हुने बताईन् ।
घना बस्ती र लामखुट्टे असाध्य लाग्ने भएकाले लालबन्दी बजार डेङ्गुको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीले बताएका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख एवं जनस्वास्थ्य अधिकृत मुमताज मिकरानीले प्रत्येक वडामा महिला स्वास्थ्य स्वंसेविकामार्फत सचेतना जगाउने, बजार क्षेत्रमा थोत्रा टायर र खुल्ला रुपमा राखिएका ड्रमको व्यवस्थापन गर्नेलगायत तयारी गरिएको बताए ।
उनले डेङ्गु सङ्क्रमणका कतिपय बिरामीलाई भेन्टिलेटरको सहायतामा उपचार गर्नुपर्ने जटिल अवस्था समेत आउने गरेको भन्दै त्यस्तो अवस्थामा बिरामीलाई भेन्टिरलेटरको सुविधा भएको स्थानमा रेफर गर्नुको विकल्प नरहेको बताए । लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीले स्वास्थ्यकर्मीको भनाई सुन्दा डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएकाले आ–आफूले लाखमुट्टेको बास स्थान नष्ट गर्ने र टोकाइबाट जोगिने उपाय अपनाउनुपर्नेमा जोड दिए ।
सर्लाहीमा २२ जना डेङ्गु सङ्क्रमितमध्ये हरिवन नगरपालिकामा मात्रै १५ जनामा सङ्क्रमण देखापरिसकेको छ । हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले सङ्क्रमण नियन्त्रणका लागि विद्यालयमा पुगेर कक्षा ९ र १० का विद्यार्थीलाई सचेतना प्रदान गरिरहेको जानकारी दिए । उनले लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्न वर्षेनि अभियान चलाउँदै आइरहेको र यो वर्ष पनि निरन्तरता दिइने उल्लेख गरेका छन् ।
डेङ्गु एडिस एजिप्टाई र एजिप्ट एल्वोपिक्टस लामखुट्टेको टोकाइबाट लाग्दछ । डेङ्गु सङ्क्रमितमा उच्च ज्वरो आउने, आँखाको गेडी वरिपरी तथा टाउको पछाडिको भाग दुख्ने, जिउ दुख्ने, जोर्नी, हड्डी तथा माङ्शपेशी दुख्ने, छालामा बिमिरा आउने, शरीरका कुनै पनि भागबाट रक्तश्राव हुने जस्ता लक्षण देखिने चिकित्सकले बताएका छन् ।
सङ्क्रमणबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न, सुत्दा झुल लगाएर सुत्न र घरभित्र तथा घर वरपर पानी जम्न नदिन चिकित्सकको सुझाव छ ।