हरिहरपुरगढी गाउँपालिकाले बोर्ड ल्याएर गाडेको स्थानमा जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंह (दायाँ) र हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (बिचमा) र वडाध्यक्ष टमबहादुर घिसिङ (बायाँ) । (तस्बीर : उज्यालो अभियान)
हरिवन, १२ भदौ – सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबिच सीमाबारे अन्यौलता देखिएको छ ।
हरिहरपुरगढी गाउँपालिकाले चुरेडाँडाको पानीढलो भन्दा झण्डै एक किलोमिटर दक्षिणमा ल्याएर बोर्ड राखेपछि सर्लाहीतर्फको सिमा मिचिएको चर्चा हुन थालेको छ । हरिवन-क्यानेश्वर सडक अन्तर्गत हरिहरपुरगढी गाउँपालिकाको बोर्ड पानीढलोदेखि एक किलोमिटर तल ल्याएर राखिएको हो ।
हरिवन नगरपालिकाले उक्त बोर्ड राखिएको स्थानदेखि एक किलोमिटर उत्तर धिमिलेडाँडासम्म नै सडक निर्माण गर्नेदेखि अन्य योजना सञ्चालन गरेको छ । सिन्धुलीतर्फ पर्ने भनी दावी गरिएको बस्तीमा हरिवन नगरपालिकाले केही समयअघि सडक ढलान गरेको योजनाको बोर्ड अहिले पनि देख्न सकिन्छ ।
हरिवन नगरपालिका-१, का वडाध्यक्ष टमबहादुर घिसिङले हरिहरपुरगढीले बोर्ड ल्याएर राखेको क्षेत्र सर्लाहीतर्फ नै पर्ने बताए । उनले सामान्यतया चुरेक्षेत्रमा पानीढलोलाई नै सीमा क्षेत्र मानिने भएपनि हरिहरपुरगढीले एक किलोमिटर दक्षिणमा ल्याएर बोर्ड राखेको बताएका छन् ।
वडाध्यक्ष घिसिङले केही समयअघि भूमि आयोगमार्फत भूमिहिन, सुकुम्वासीलाई जग्गा व्यवस्थापन गर्ने कार्यका लागि जग्गा सर्भे गर्न जाँदा स्थानीय वासिन्दाले आफूले सिन्धुलीतर्फ नै सर्भे गराउने भनेपछि आफूहरु त्यसै फर्किएको बताए । “जग्गा नाप्न जाँदा स्थानीयले नै सिन्धुलीतर्फकै नापी गराउने भनेपछि हामीहरु त्यसै फर्कियौँ,” वडाध्यक्ष घिसिङले भने, “जताको भूगोल पर्ने भएपनि विकास र सुविधा पुगे भैगोनी भनेर हामीले खासै चासो देखाएका छैनौँ ।”
सर्लाही र सिन्धुलीको सीमा पानीढलो क्षेत्रमा पर्ने बिलन्दी, रक्सीपोकललगायत चुरेक्षेत्रको केही साताअघि जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंह, हरिवनका नगरप्रमुख रमेश बुढाथोकी (कमल) लगायतले निरीक्षण गरेका थिए । जिल्ला समन्वय समिति सर्लाहीका सभापति सिंहले जिल्लाको सीमा मिचिएको विषयमा सिन्धुली र सर्लाही दुवैतर्फका जनप्रतिनिधि, सुरक्षा अधिकारीलगायत सरोकारवाला बसेर छलफल गराउन पहल गर्ने बताए ।
जिल्ला समन्वय समितिका सभापति सिंहले भने, “यो विषयमा सिन्धुलीका जिल्ला समन्वय समितिका सभापति, दुवै तर्फका जनप्रतिनिधि, सुरक्षा अधिकारी सबै बसेर छलफल गर्छौ ।” हरिहरपुरगढी गाउँपालिकाले बोर्ड ल्याएर राखेको बिलन्दी गाउँमा जिल्ला समन्वय समिति सिन्धुलीका सभापति कारसाङ लामाको नै घर समेत पर्छ ।
हरिपरपुरगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका लामाले गाउँपालिकाले बोर्ड ल्याएर राखेको ठाउँसम्म सिन्धुलीकै भूगोल पर्ने दावी गरेका छन् । “बोर्ड ल्याएर राखिएको ठाउँसम्म सिन्धुली नै पर्छ,” जिल्ला समन्वय समितिका सभापति लामाले उज्यालो अभियानसँग भने “पहिले त्यहाँ गोरेटो बाटो हुँदा सिन्धुली र सर्लाहीको सीमा छुट्याइएको थियो, त्यसैलाई आधार मानेर बोर्ड राखिएको हो ।”
हरिहरपुरगढी गाउँपालिका सिन्धुलीका धेरै वासिन्दा अहिले पनि किनमेलका लागि सर्लाहीको हरिवन बजार झर्ने गरेका छन् । आफ्ना नागरिकले प्रयोग गर्ने भएकाले हरिहरपुरगढी गाउँपालिकाले हरिवन-क्यानेश्वर सडकमा ढुङ्गा बिच्छ्याउनेलगायत कामका लागि सहयोग गर्दै आइरहेको छ ।
हरिवन नगरपालिकाले पनि चुरेडाँडाको पानी ढलोसम्मकै सडक ढलान सक्ने योजनासहित बर्षेनि प्राथमिकतामा राखेर बजेट विनियोजन गरी काम गरिरहेको नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले जानकारी दिए ।
भूगोलको हिसाबले सर्लाही वा सिन्धुली कतातर्फ पर्छ भन्ने अन्यौलता रहेको बिलन्दीका कतिपयको नागरिकता र मतदाता परिचय पत्र सर्लाहीतर्फको र कतिपयको सिन्धुलीतर्फको रहेको बुझिएको छ ।