logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

श्रीकृष्ण जन्माष्टमीको मूर्ति विर्सजन आज, सुरक्षा व्यवस्था कडा


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, १२ भदौ – सदरमुकाम मलंगवासहित सर्लाही जिल्लाभर आज श्रीकृष्ण जन्माष्टमीको मूर्ति विर्सजन गरिँदै छ ।

यो पर्व अस्ती सोमबार नै मनाइएको भएपनि मूर्ति भने आज सेलाउन लागिएको हो । अघिल्ला वर्षहरुमा मूर्ति विर्सजन गर्न लैजानेक्रममा झडप भएको घटनालाई ध्यान दिँदै सदमुकाम मलंगवामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आज मूर्ति विर्सजन गर्न लैजाँदा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित हुने छन् । झडप हुन नदिन यो वर्ष अस्ती सोमबार देखि नै मलंगवामा उच्च सावधानी अपनाइएको छ । श्रीकृष्ण जन्माष्टमीको मूर्ति आज दिउँसो नजिकैको पोखरी, खोला, नहरलगायतका जलाशयमा लगेर विर्सजन गर्न लागिएको हो ।

मलंगवामा मात्रै ९ स्थानमा श्रीकृष्ण जन्माष्टमीको मूर्ति स्थापना गरेर पूजाआरधाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले मूर्ति विर्सजनका क्रममा सामाजिक सद्भाव कायम राख्न र कसैलाई बाधाब्यवधान पुग्ने गतिवविधि नगर्न अनुरोध गरेको छ ।

जिल्लाका सुरक्षा अधिकारीले कुनै पनि किसिमको असहजस्थिति सिर्जना हुन नदिन यो पटक व्यापक सावधानी र सबै पक्षसँग छलफल समेत गरिएको बताइरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालकुमार अधिकारीले श्रीकृष्ण जन्माष्टमी पर्व शान्तपूर्वक मनाइएको र अब आज मूर्ति पनि सामान्य ढंगले नै विर्सजन गराउन आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको जानकारी दिए ।