लालबन्दी, ११ भदौ – सर्लाहीको मौसम आज पनि धाम्मधुम्म भइरहेको छ । यहाँ हिजो अपरान्हदेखि मौसममा बदली आउँदा गर्मी निकै कम भएको छ ।
हिजो मध्यान्हसम्म चर्को घाम लागेर गर्मी भएकोमा अपरान्हबाट मौसम धुम्मिएर शित्तल भएको हो । सदरमुकाम मलंगवासहित दक्षिणी क्षेत्रमा हिजो अपरान्हपख केहीबेर पानी छिट्याएको थियो । अन्य भेगमा पानी नपरेपनि मौसम धुम्म भई चिसो हावा चल्दा सर्वसाधारणले शित्तलताको महशुस गरिरहेका हुन् ।
आज पनि बिहानैदेखि पानी पर्लाजस्तो भई सबैतिरको मौसम धुम्म रहेको स्थानीयले बताएका छन् । भदौ लागेपछि २/३ दिन घाम लागेपनि त्यसपछि भने बारम्बार पानी परिरहँदा स्थानीयलाई राहत मिलिरहेको छ ।
असोज लागेपछि भने विस्तारै चिसो बढ्न थाल्छ । यो वर्ष असार, साउन र अहिले भदौमा पर्याप्त पानी परिरहँदा किसान खुसी छन् । चाहिने बेला पानी परिरहेकाले धान बाली राम्रोसँग हुर्किरहँदा यो वर्ष धान उत्पादन बढ्ने अनुमान छ ।
पर्याप्त वर्षा भएकाले यो वर्ष आकाशे पानीको भरमा खेती हुने क्षेत्रमा पनि सबैजसो खेतमा धान रोपाइँ भएको छ ।
यसैबिच, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा छ । दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
हाल देशभर आंशिकदेखि साधारणतया बदली छ। कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।