सुखेपोखरी, १० भदौ – सर्लाहीको हरिवन नगरपालिका वडा नं. १० को वडा कार्यालय भवन आज मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले उद्घाटन गरेका छन् ।
३७ लाख रुपियाँ लागतमा निर्मित वडा कार्यालय भवनको मन्त्री यादवको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । केही समयअघि नै निर्माण भई सेवा सञ्चालन गरिएको वडा कार्यालय भवनलाई भर्खरै निर्माण कार्य पूर्ण गरी औपचारिक रुपमा उद्घाटन गरिएको हरिवन १० का वडा सदस्य गीतानाथ मैनाली (जिएन) ले जानकारी दिए ।
मन्त्री यादवले वडा कार्यालय नजिकै छ लाख ११ हजार रुपियाँ लागतमा निर्माण गरिएको गणेश मन्दिरको समेत उद्घाटन गरे । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री यादव जिल्ला आएको मौका पारेर हरिवन नगरपालिका–१०, स्थित चतुर्भूजेश्वर जनता माध्यमिक विद्यालय सुखेपोखरीले भवन अभावमा पठनपाठनका लागि समस्या भइरहेको विषयमा उनलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
मन्त्री यादवले कार्यक्रमलाई सम्वोधन गर्दै हरिवनको समग्र विकासका लागि सहयोग गर्ने वचन दिए ।
हरिवन १० का वडाध्यक्ष शम्भुप्रसाद मैनालीको अध्यक्षतामा आयोजित कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान, निवर्तमान नगरप्रमुख गणेशप्रसाद प्रसाई, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटालगायतले हरिवन १० को वडा कार्यालयले आफ्नै भवन निर्माण गरी सेवा दिएकोमा शुभकामना तथा बधाई व्यक्त गरेका छन् ।
कार्यक्रममा भट्टराई समुदायको वशिष्ठ कुलबङ्शले मन्त्री यादवलाई सम्मान गरेको छ ।