जिल्ला प्रहरी कार्यालय मलंगवा । (तस्बीर : उज्यालो अभियान)
मलंगवा, १० भदौ – सर्लाहीका ३० भन्दा बढी स्थानमा कृष्णाजन्माष्टमीको उत्सव छ ।
विभिन्न मन्दिर तथा टोल बस्तीमा श्रीकृष्ण जन्माष्टमीको रौनक देखिएको हो । मृष्ण मन्दिरमा मानिसहरुको बाक्लो चहलपहल छ ।
सदरमुकाम मलंगवामा मात्रै ९ ठाउँमा कृष्णाजन्माष्टमीको पूजा गरी उत्सवको तयारी छ । पर्व मनाउनेक्रममा फरक समुदायबिच विवाद हुन नदिन सदरमुकाम मलंगवामा प्रहरीले उच्च सुरक्षा सावधानी अपनाएको छ ।
सर्लाही प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले मलंगवामा सुरक्षा व्यवस्था चुस्त पारिएको जानकारी दिए । श्रेष्ठका अनुसार मातहतका युनिटलाई पनि उत्सव मनाइने मन्दिर तथा अन्य स्थलमा सुरक्षा पहरा दिन निर्देशन दिइएको छ ।
कृष्णाजन्माष्टमीको अवसरमा आज मध्यरातसम्म सर्लाहीका मठमन्दिरमा मेलासहित उत्सवका कार्यक्रम राखिएका छन् ।
आज भाद्र कृष्ण अष्टमी अर्थात् कृष्णजन्माष्टमीका दिन हिन्दू धर्मावलम्बीले भगवान् श्रीकृष्णको जन्मदिनको रुपमा कृष्ण भगवानको पूजा आरधना गरी सर्लाहीसहित देशैभर मनाएका छन् । द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान विष्णुको आठौँ अवतारका रूपमा कृष्ण जन्मिएका विश्वास गरिन्छ । आज सर्लाहीसहित देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
आजको दिनलाई कृष्णअष्टमी र रातलाई मोहरात्रि भनिन्छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।
लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको विश्वास छ । कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धअघि अर्जुनलाई दिएको गीताज्ञान प्रख्यात छ ।
कंस र उनका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर पुतना लगायतको दमन गरी कृष्णले लोकमा शान्ति कायम राखेको पुराणमा उल्लेख छ ।