किशोरको डुबेर मृत्यु भएको क्रसर उद्योगले बनाएको खाल्डो । (तस्बीर : उज्यालो अभियान)
बयलवास, ०९ भदौ – सर्लाहीको ईश्वरपुर नगरपालिका–५, सखुबनीमा क्रसर उद्योगले खनेको खाल्डोमा डुबेर मृत्यु भएका युवकको परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमती भएको छ ।
ईश्वरपुर नगरपालिका–४, सागरनाथ निवासी जितबहादुर थापा मगरका छोरा १७ वर्षीय निशान्त थापा मगरको हिजो दिउँसो सखुबनीस्थित श्याम सुन्दर महतोको क्रसर उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको थियो ।
गएसाँझ इलाका प्रहरी कार्यालय केशरगन्जमा ईश्वरपुर ४ र ५ का जनप्रतिनिधि, गाउँका अगुवा, क्रसर उद्योग संचालक र पीडित परिवारबिच चलेको छलफलले क्रसर उद्योगले लापरवाही ढंगले खाल्डो खन्दा घटना भएको भन्दै मृतकको परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति रकम उपलब्ध गराउने सहमती गरेको हो । सो सहमतीसँगै मृतक युवकको शव पोष्टमार्टमका लागि राति नै प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।
मृतक निशान्तका बुबा जितबहादुर वैदेशिक रोजगारीको सिलसिलामा हाल मलेसियामा रहेकाले पर्सीसम्म उनी आइपुग्ने र बुवा आएपछि मात्रै शव पोष्टमार्टम गरिने भएको छ । निशान्त हिजो दिउँसोपख ४/५ जना साथीहरुसँगै सागरनाथदेखि सखुबनीसम्म आएर क्रसर उद्योगले खनेको खाल्डोमा जमेको पानीमा पौडी खेल्दा दुःखद घटना हुन पुगेको हो ।
३० मिटर गहिरो खाल्डोमा जमेको पानीमा डुबेका निशान्तको शव निकाल्न बर्दीवासस्थित सशस्त्र प्रहरी बलको बाहिनीबाट गोताखोर टोली आउनुपरेको थियो ।
सर्लाहीसहित तराई क्षेत्रमा विभिन्न सडक निर्माण गर्न खनिएको खाल्डो, क्रसर उद्योगले ढुंगा, गिट्टी निकाल्दा बनेको खाल्डो र खोलामा नदीजन्य पदार्थ उत्खनन गर्न जथाभावी खनिएको खाल्डोमा डुबेर बर्सेनि बालबालिकाले ज्यान गुमाउने गरेका छन् ।