मृतक किशोरको शव निकाल्दै सशस्त्र प्रहरीको टोली ।
बयलवास, ०८ भदौ – सर्लाहीको ईश्वरपुर नगरपालिका–५, सखुवनीमा क्रसरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएका किशोरको शव सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले निकालेको छ ।
सखुवनीमा फुटबल खेल खेल्न साथीसँगै आएका ईश्वरपुर नगरपालिका–४, सागरनाथका १७ वर्षीय निशान थापा मगरको नुहाउनका लागि फूलजोर खोला नजिकै नदीजन्य पदार्थ उत्खनन गर्न खनिएको खाल्डोमा जाँदा आज मध्यान्ह डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । खाल्डो गहिरो भएकाले मृतक किशोरको शव निकाल्न गोताखोर नै मगाउनु परेको हो ।
बर्दीवासस्थित सशस्त्र प्रहरी बल नेपालको छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली आएर मृतक किशोरको शव निकालेको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विनोदराज खनालले बताए ।
मृतक किशोरको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाउने तयारी गरिएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले झण्डै ३० मिटर गहिरो खाल्डोमा जमेको पानीबाट मृतक किशोरको शव निकालेको हो ।