नगर अस्पताल लालबन्दी । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी, ०८ भदौ – पछिल्लो समय प्रसूतिमा अत्यधिक चाप बढिरहेको नगर अस्पताल लालबन्दीमा एक महिनामै ४४ जना गर्भवतीलाई शल्यक्रियामार्फत प्रसूति सेवा प्रदान गरिएको छ ।
अस्पतालमा गएको फागुन २१ गतेबाट शल्यक्रियामार्फत प्रसूति सेवा सूरु गरिएको थियो । अस्पतालमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. रामविश्वास राय दनुवारलाई नियुक्त गरी शल्यक्रिया सुरु गरेपछि अत्यधिक चाप बढिरहेको छ ।
त्यसैक्रममा साउन महिनामा मात्रै ४४ जना गर्भवतीलाई शल्यक्रिया (अप्रेसन) मार्फत प्रसूति गराइएको हो । साउन महिनामा १३७ जना गर्भवतीलाई प्रसूति सेवा प्रदान गरिएकोमा ९३ जनाको प्राकृतिक (नर्मल) र ४४ जनाको शल्यक्रिया (सिएस) मार्फत शिशु जन्मिएको नगर अस्पतालले जनाएको छ ।
प्रसूति सेवा लिने सबैभन्दा धेरै लालबन्दी नगरपालिकाभित्रकै गर्भवती छन् । साउन महिनामा लालबन्दीका ४९ जनाको नर्मल डेलिभरी हुँदा १९ जनाको शल्यक्रिया भएको छ ।
यस्तै ईश्वरपुर नगरपालिकाका ९ जनाको नर्मल र ८ जनाको अप्रेसन, हरिवनका ६ जनाको नर्मल र १ जनाको अप्रेसन, हरिपुरका ८ जनाको नर्मल र ३ जनाको अप्रेसन, बागमतीका ५ जनाको नर्मल र ३ जनाको अप्रेसनबाट डेलिभरी गराइएको छ ।
यस्तै चन्द्रनगरका ५ जनाको नर्मल र २ जनाको अप्रेसन, कविलासीका एक जनाको नर्मल र एक जनाको अप्रेसन, ब्रम्हपुरी र बसबरियाका एक÷एक जनाको अप्रेसन, बरहथवा र चक्रघट्टाका दुई÷दुई जनाको नर्मल डेलिभरी गरिएको छ । छिमेकी जिल्लाका गर्भवतीले पनि सेवा लिएका छन् ।
महोत्तरीबाट २ जनाको नर्मल र १ जनाको अप्रेसन, सिन्धुलीबाट २ जनाको नर्मल र २ जनाको अप्रेसन, रौतहटबाट एक जनाको नर्मल र एक जनाको अप्रेसन, बाराबाट १ जनाको अप्रेसन तथा धनुषाबाट एक जनाको नर्मल डेलिभरी गराइएको छ ।
लालबन्दीको नगर अस्पतालमा अहिले नर्मल र अप्रेसन दुवैबाट डेलिभरी गराउन थालिएसँगै प्रसूतितर्फ अत्यधिक चाप रहँदा व्यवस्थापनमै चूनौति थपिएको छ ।