logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

टीकापुर घटनाको ९ वर्ष : रामनगरमा थारु समुदायको प्रदर्शन


  • उज्यालो अभियान

ईश्वरपुर, ०७ भदौ – २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा ७ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको घटनालाई लिएर आज सर्लाहीको ईश्वरपुर नगरपालिका–९, रामनगरमा प्रदर्शन गरिएको छ ।

थरुहट, थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनका क्रममा सो घटना भएको थियो । त्यस घटनापछि रेशम चौधरी पक्राउदेखि थारु समुदायका ८८ घरमा लुटपाट र आगजनी भएको थियो ।

सो दिनलाई सम्झँदै थारु समुदायले थारु बिद्रोह दिवस (करिया दिन) का रुपमा मनाउने गर्छन् । सोहीक्रममा आज थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति सर्लाहीको आयोजनामा ईश्वरपुर ९ स्थित रामनगर गाउँमा दबाबमूलक शान्ति र्याली निकालिएको हो ।

९ वर्षअघि थारु समुदायमाथि आक्रमण भएको भन्दै उनीहरुले भदौ ७ गतेलाई करिया दिन अर्थात् कालो दिनका रुपमा मनाउने गरेका छन् ।

कार्यक्रममा मधेश प्रदेशसभा सदस्य उर्मिला चौधरी, ईश्वरपुर ९ का वडाध्यक्ष नन्दलाल चौधरी, लालबन्दी ३ का वडाध्यक्ष वुद्धदेव चौधरी, थारु कल्याणकारीसभा जिल्ला कार्य समिति सर्लाहीका अध्यक्ष सूर्यनारायण चौधरी, थारु समुदायका अगुवा, स्थानीयवासीलगायतको उपस्थिति रहेको स्थानीय नाथुराम चौधरीले जानकारी दिए ।