logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

अधिकांश सडकमा अत्यधिक खाल्डाखुल्डी


  • उज्यालो अभियान

लालबन्दी, ०७ भदौ – सर्लाहीका विभिन्न भित्री पक्की र कच्ची सडकमा खाल्डाखुल्डी बढेका छन् ।

निरन्तरजसो भइरहेको वर्षापछि यहाँका अधिकांश सडकमा खाल्डाखुल्डी बढेका हुन् । सवारी साधनको दिनहुँ चाप बढिरहेका बेला जिल्लाको भित्री कच्ची सडकहरुमा कालोपत्रे उप्किएर खाल्डाखुल्डी बढेको हो ।

एक÷दुई वर्षअघि मात्रै कालोपत्रे भएका यहाँका भित्री सडकखण्ड अहिले ठाउँठाउँमै कालोपत्रे उप्किएर जिर्ण बन्दा सवारी दुर्घटनाको जोखिम बढेको छ । लालबन्दीमा केही वर्षअघि मात्रै कालोपत्रे भएको पुरानो राजमार्ग ठाउँठाउँमै कालोपत्रे उप्किएर जिर्ण बनेको छ ।

यस्तै, हरिवन–कौडेना, लालबन्दी–जब्दी र पूर्व पश्चिम राजमार्गमा समेत दर्जनौँ ठाउँमा कालोपत्रे उप्किएर खाल्डो परेका छन् । सर्लाहीखण्डको पूर्व पश्चिम राजमार्ग वर्षायाममा खाल्डाखुल्डी परेपछि वर्षेनिजसो मुख्य चाडपर्व छेका पारेर मर्मत गर्ने गरिएको छ ।

भित्री सडकमा भने कालोपत्रे उप्किएको महिनौँसम्म पनि मर्मत हुन सकेको छैन् । पानी परेर जिल्लाको उत्तरी ग्रामीण भेगका कच्ची सडक समेत ठाउँठाउँमै जिर्ण बनेका छन् ।

खोलामा बाढी आइरहँदा चुरेभेगमा खोलाको बगरबाट जानुपर्ने ठाउँमा प्रायः बजार क्षेत्रसम्मको आउजाउ नै ठप्प छ ।