फाइल तस्बीर ।
पत्थरकोट, ०६ भदौ – सर्लाहीको उत्तरी भेगमा भारी वर्षा भएको छ ।
चुरेवर्ती र पूर्व–पश्चिम राजमार्ग आसपासको क्षेत्रमा रातिदेखि आज बिहान उज्यालो हुँदासम्म भारी वर्षा भएको हो । अहिले भने पानी पर्नेक्रम कम भएको छ । सर्लाहीको पत्थरकोटस्थित लखन्देही खोलामा राखिएको वर्षामापन केन्द्र र त्यस आसपास मध्यमदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सर्लाहीमा यस वर्ष तुलनात्मक रुपमा उत्तरी भेगमा नै बढी पानी परिरहेको छ । राति पनि उत्तरी भेगमा ठूलो पानी पर्दा सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा भने हल्का मात्रै वर्षा भएको छ ।
यो वर्ष अहिलेसम्म आकाशे वर्षाले साथ दिँदा धान, उखु, कोदोलगायतका बाली राम्रो भइरहेको छ । पानीले हरिया तरकारी तथा तरकारीको बेर्नामा भने क्षति गरिरहेको किसानले बताएका छन् ।
यस्तै पानी परेपछि जिल्लामा विद्युत् अनियमित भएको छ । कतिपय ठाउँमा रातिदेखि नै बत्ती अवरुद्ध छ । मर्मत भइरहेकाले बजार क्षेत्रमा समेत बत्ती आउने जाने भइरहेको छ ।
यसैबिच आउँदो तीन दिनसम्म देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरु तथा बाँकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
यी क्षेत्रमा हुन सक्ने गेग्रान बहाब, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले सबैलाई अनुरोध गरेको छ ।
गएराति र बिहान बर्दियाको दौलतपुर, कैलालीको बचिला र कचिला, सर्लाहीको पत्थरकोट, उदयपुरको सुन्दरपुर, सिन्धुपाल्चोकको नाकोटे, कैलालीको टीकापुर र म्याग्दीको मङ्गलघाट क्षेत्रमा ठूलो पानी परेको छ ।