logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

उखुको अनुदान माग गर्दै कृषिमन्त्री अधिकारीलाई ज्ञापन पत्र


  • उज्यालो अभियान

मलंगवा, ०५ भदौ – कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग उखु किसानलाई तत्काल अनुदान रकम वितरण गर्न माग गरिएको छ ।

उखु क्रसिङ सिजन २०८०/८१ मा चिनी उद्योगलाई उखु बिक्री गरेको पाँच महिना बितिसक्दा समेत किसानले अनुदान रकम पाउन सकेका छैनन् । उखु खेती धेरै हुने सर्लाही र रौतहटबाट आज मन्त्रालय पुगेका सक्तारुढ नेपाली कांग्रेसका नेताहरुको टोलीले उखु किसानका लागि तत्काल जिल्लामा अनुदान रकम निकासाको व्यवस्था मिलाइदिन माग गरेको हो ।

उखुको अनुदानका लागि यथाशीघ्र कदम चालिदिन आग्रह गर्दै मन्त्री अधिकारीलाई ज्ञापन पत्र समेत बुझाइएको हो । मन्त्री अधिकारीसँग उखु किसानलाई राहत पुग्ने गरी अनुदानबाहेक अन्य कार्यक्रमहरु ल्याइदिन आग्रह समेत गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै मन्त्री अधिकारीले उखु किसानको अनुदान रकम जतिसक्दो चाँडो निकासाका लागि पहल भइरहेको बताए । ज्ञापन पत्र बुझाउन जिल्ला समन्वय समितिका सभापति सिंह, कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह, मधेश प्रदेशसभाका सदस्य नागेन्द्र साह, अन्य नेता, व्यवसायी, नागरिक अगुवा र उखु किसान मन्त्रालयमा पुगेका थिए ।

किसानले ल्याएर बिक्री गरेको उखु पेलेर चिनी उद्योगहरु माघ/फागुनमै बन्द भएपनि किसानले पाउने अनुदान रकमबारे भने भदौ लागिसक्दा सम्म पनि अन्यौलता नै छ ।