मलंगवा, ०५ भदौ – सर्लाहीमा गएराति देखि नै झरी परिरहेको छ ।
जिल्लाका अधिकांश भूभागमा रातिदेखि नै पानी परिरहेको हो । यो क्रम अहिले बिहानसम्म पनि जारी नै छ । ठूलो पानी नपरेपनि बेलाबेलामा झरी पर्ने र रोकिनेक्रम चलिरहेको स्थानीयले बताएका छन् ।
सर्लाहीमा अस्ती सोमबार दिउँसो देखि नै मौसम बदली भएर बेलाबेलामा पानी परिरहेको छ । मौसममा आएको बदलीपछि यहाँ गर्मी निकै कम भएको छ ।
भदौ लागेपछि असाध्य गर्मी भएकोमा दुई दिनदेखि भने पानी परेर स्थानीयले शित्तलताको महशुस गरिरहेका छन् । यो वर्ष असारदेखि नै बेलाबेलामा आकाशे वर्षा भइनैरहेको छ । त्यसैले धेरै किसानले यो वर्ष प्राकृतिक वर्षा अर्थात् आकाशबाट परेको पानीमै धान रोपाइँ गरेका छन् ।
धान रोपेपछि पनि बेलाबेलामा पानी परिरहेकाले धान बाली राम्रोसँग हुर्किरहेको भन्दै किसान खुसी छन् । जिल्लाका किसानले अहिले धान बाली गोडमेल गरेर मलखाद गरिरहेका छन् ।
कृषि सामग्री कम्पनि लिमिटेड नवलपुरले अहिले पुनः धमाधम सहकारीहरुलाई धान बालीका लागि युरिया मल पठाइरहेको छ । अब सहकारीहरुले दुई÷तीन दिनभित्रै किसानलाई युनिया मल वितरणको तयारी गरेका छन् ।
यही पानीको चिसोमा चुरेभेगका किसानले कोदो र मकै रोपेका छन् । आकाशे वर्षाले साथ दिँदा जिल्लामा उखु बाली समेत राम्रोसँग हुर्किरहेको किसानले बताएका छन् ।
यसैबीच मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ सरेकाले देशभर मनसुनी वायु सक्रिय भएर पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सात वटै प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।