logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा बिहानैदेखि सिमसिम वर्षा, आज छैन गर्मी


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी, ०४ भदौ – सर्लाहीको मौसम आज पनि बदली भएको छ ।

यहाँ कतै बिहानैदेखि सिमसिम पानी परिरहेको छ भने कतै पानी पर्लाजस्तो भई मौसम धुम्मिएको स्थानीयले बताएका छन् । अहिले बिहानपख चिसो हावा समेत बहिरहेको छ ।

हिजो दिउँसोदेखि नै सर्लाहीको मौसम बदली भइरहेको हो । हिजो दिउँसोपख पनि यहाँ पानी परेको थियो ।

मौसममा आएको बदलीपछि हिजो दिउँसोदेखि नै गर्मी निकै घटेको छ । पानी परेर तत्काललाई गर्मी कम हुँदा सर्वसाधारणले राहत महशुस गरेका छन् । यो वर्ष भदौ पहिलो सातासम्म बेलाबेलामा वर्षा भइरहँदा वर्षदिनभर खाने धान बाली राम्रोसँग हुर्किरहेको भन्दै किसान खुसी रहेका छन् ।

आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रमा समेत यो वर्ष धानका लागि पानीको अभाव भएको छैन् । पानी परेर बारी तथा खेतमा पानी जम्दा तरकारी उत्पादनमा कमी आएपनि उखु, कोदो, मास, लहरी, घाँस खेतीलगायत अन्य बालीलाई फाइदा गरेको किसानले बताएका छन् ।

यसैबिच मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ सरेकाले देशभर मनसुनी वायु सक्रिय भएर पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी वायु सक्रिय भएकाले अझै दुई दिन देशैभर झरी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताए । उनका अनुसार लगातार वर्षा नभएपनि २–४ घण्टाको फरकमा पानी रोकिँदै फेरि पर्दै गर्नेछ ।