logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सवस्टेशन संचालनको प्रयास अझै असफल, आज महारानी बजारमा बृहत छलफल


  • उज्यालो अभियान

हरिपूर्वामा अलपत्र रहेको विद्युत् सवस्टेशन । (तस्बीर : उज्यालो अभियान)

हरिपूर्वा, ०२ भदौ – सर्लाहीको हरिपूर्वामा डेढ वर्षअघि निर्माण सम्पन्न भएको विद्युत् सवस्टेशन अझै सञ्चालन हुन सकेको छैन् ।

नेपाल विद्युत् प्राधिकरणले जिल्लाको दक्षिण–पूर्वी भेगमा विद्युत् आपूति सहज बनाउने उद्देश्यले हरिपूर्वा नगरपालिका–२, मा निर्माण गरेको सवस्टेशन लामो समयसम्म अलपत्र परेको हो । सवस्टेशन सञ्चालनका लागि बारम्बार गरिएको प्रयास सफल हुन सकेको छैन् ।

हरिपूर्वा बजार क्षेत्रमा करिव दुई दर्जनजति पोल गाड्ने विषयमा विवाद हुँदा निर्माण भइसकेको सवस्टेशन चालू हुन सकेको छैन् । हरिपूर्वामा प्राधिकरणले प्रादेशिक कार्यालय जनकपुरबाट बेग्लै टोली परिचालन गरी पोल गाड्ने काम गरेपनि अहिले फेरि ईश्वरपुर नगपालिकाको वडा नं. १३ महारानी बजार क्षेत्रमा पोल गाड्ने विषयमै विवाद चर्किएको छ ।

बाँके चोक हुँदै महारानी बजारतर्फ लान लागिएको ३३ केभी प्रशारण लाइनको चार वटा मात्रै पोल गाड्ने विषयमा विवाद हुँदा सवस्टेशन सञ्चालन गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरण मधेश प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले उज्यालो अभियानलाई जानकारी दिए । “हरिपूर्वाको समस्या समाधान भइसकेको छ । त्यहाँ अब पहिले नै गाढेर ढलेका पोल उठाउन मात्रै बाँकी छ,” प्रादेशिक कार्यालयका प्रमुख ठाकुरले भने “अब महारानी बजारमा मात्रै समस्या छ । त्यो समस्या पनि समाधान गर्न आज आइतबार बृहत छलफल गर्दै छौँ ।”

उनले सर्लाही र महोत्तरी जिल्लाबिच सिमा विवादका कारण पोल गाड्ने विषयमा अप्ठेरो परेको र आज बिहान ८ बजेपछि प्रमुख जिल्ला अधिकारीसहित विवाद भएको स्थानमै छलफल आयोजना गरिएको सुनाए । हरिपूर्वामा निर्माण सम्पन्न भइसकेको सवस्टेशन अलपत्र परिरहँदा दक्षिण–पूर्वी बेल्टका स्थानीय चर्को गर्मीमा छिनछिनमै बत्ती कटिरहने, बत्ती आउँदा पनि भोल्टेज नआउने जस्ता समस्याले हैरान छन् ।

हरिपूर्वाको यो सवस्टेशन सञ्चालनमा आए हरिपूर्वा नगरपालिका, चन्द्रनगर गाउँपालिका, पर्सा गाउँपालिका, ब्रह्मपुरी गाउँपालिकालगायत सर्लाहीको पूर्वी भेगमा विद्युत् आपूर्ति सहज बन्ने र स्थानीयले अहिलेजस्तो अनियमित विद्युत् कटौति र भोल्टेजको समस्या भोग्नु नपर्ने प्राविधिकले बताएका छन् । त्यसभेगमा अहिले सदरमुकाम मलङ्गवास्थित सवस्टेशनबाट लामो प्रशारण लाइन हुँदै बत्ती ल्याउनुपर्दा समस्या भइरहेको हो ।

हरिपूर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साह तेलीले हरिपूर्वा क्षेत्रका स्थानीयले मौसम सामान्य बदली हुँदा पनि दुई दिनसम्म बत्ती नआउने र बत्ती आइरहँदा न्यून भोल्टेज आउने समस्या झेलिरहेको भन्दै दुःखेसो पोखे । नगरप्रमुख साह प्राधिकरणले विवादित क्षेत्रमा आएर सुटुक्क पोल गाड्ने काम गरेकोमा भने असन्तुष्ट छन् ।

“बिजुलीको त यहाँ असाध्य समस्या छ, सवस्टेशन चालू भएपछि यो समस्याबाट मुक्ति हुने आशमा छौँ,” नगरप्रमुख साहले भने, “प्राधिकरणले अन्य ठाउँमा बिजुलीको पोल गाड्दा हामीसँग समन्वय ग¥र्यो तर विवादित क्षेत्रमा भने आफू खुसी काम गरेकोमा म र गाउँले सन्तुष्ट छैनौँ ।” नापी अनुसार पोल गाड्न खोज्दा राजनीति भएपछि प्राधिकरणले पछि प्रादेशिक कार्यालयबाटै टोली परिचालन गरेर पोल गाड्ने काम गरेको हो ।

पोल गाड्ने विवादका कारण सवस्टेशन सञ्चालन नहुँदा सवस्टेशनमा जडान गरिएको ट्रान्सफर्मरसहित अन्य उपकरण बेवारिसे झैँ बनिरहेका छन् ।