बागमती, ०१ भदौ – रेडियो नेपालबाट पहिलो पटक तामाङ भाषामा समाचार प्रशारण भएको सम्झनामा आज सर्लाहीमा पनि ३० औँ प्रशारण दिवस मनाइएको छ ।
२०५१ साल भदौ १ मा रेडियो नेपालबाट तामाङ भाषामा समाचार प्रसारण भएको दिनको स्मरणमा हरेक वर्ष भदौ १ गते तामाङ पत्रकारहरुले प्रसारण दिवसको रुपमा मनाउने गर्छन् । दिवसमा अवसरमा आज तामाङ पत्रकार संघ सर्लाही शाखाले बागमतीमा गुम्बा सरसफाई र हरिवनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
बिहान बागमती नगरपालिका १२ मा रहेको काल्साङ छयोई खोर्लिङ गुम्बामा सरसफाई गरिएको छ । बागमती नगरपालिका १२ का वडाध्यक्ष ओमबहादुर श्रेष्ठ र स्थानीय तामाङ समुदाय समेतको उपस्थितिमा जिल्लाका तामाङ संचारकर्मीले गुम्बा परिसरमा सरसफाई गरेका हुन् । त्यसपश्चात हरिवन नगरपालिका ११ स्थित वडा कार्यालयमा तामाङ संचारको ईतिहास र उपलब्धी विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको तामाङ पत्रकार संघ सर्लाहीका सचिव उदय पाख्रिनले जानकारी दिए ।
संघका जिल्ला अध्यक्ष चन्द्रबहादुर जिम्बाको अध्यक्षता एवं हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यतामा आयोजित अन्तरक्रियामा नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, तामाङ घेदुङ सर्लाहीका अध्यक्ष वुद्ध थिङ, उमेश ठोकर, जयमान पाख्रिन, राजु लो तामाङ लगायतको आतिथ्यता रहेको थियो ।