logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

उखुको अनुदान अनिश्चित, पहल गर्दै उखु किसानका अगुवा


  • उज्यालो अभियान

हरिवन, ३१ साउन – उखु क्रसिङ सकेर चिनी उद्योग बन्द भएको पाँच महिना बितिसक्दा पनि किसानले अनुदान रकम पाउन सकेका छैनन् ।

सरकारले गत आर्थिक वर्ष २०८०÷८१ का लागि उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपियाँ निर्धारण गरेको थियो । त्यसमध्ये चिनी उद्योगले ५६५ रुपियाँ र सरकारले अनुदानबापत ७० रुपियाँ उपलब्ध गराउने भनी उल्लेख छ ।

उखु क्रसिङ सकेर देशभरका चिनी उद्योग गत माघ÷फागुनमै बन्द भएका थिए । उखु अभावमा अधिकांश चिनी उद्योग माघमा नै बन्द गर्नुपरेको थियो ।

सर्लाहीको इन्दुशङ्कर चिनी उद्योग हरिवन, महोत्तरीको एभरेष्ट चिनी उद्योग रामनगर र बाराको रिलायन्स चिनी उद्योग मनहर्वा मात्रै फागुनसम्म सञ्चालन भएका थिए । पर्याप्त उखु नपाउँदा छिट्टै बन्द गरिएका अधिकांशजसो चिनी उद्योगले किसानलाई दिनुपर्ने भुक्तानी गरिसकेका छन् ।

नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले यो पटक चिनी उद्योगीबाट पैसा नपाएको भनी गुनासो नआएको बताए । सर्लाहीकै महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौलबाट अघिल्ला आर्थिक वर्षहरुकै भुक्तानी पाउन बाँकी रहेको भन्ने सुनिएको मैनालीले बताए ।

मैनालीले प्रमुख चाडपर्वअघि नै उखुको अनुदान रकम प्राप्त गर्ने गरी पहल भइरहेको जानकारी दिए । “गत वर्ष प्रमुख चाडपर्वमा पनि उखुको सरकारी अनुदान रकम पाउन सकेनौँ, त्यसैले यो वर्ष अहिलेदेखि नै पहल गरिरहेका छौँ,” मैनालीले भने,“ सांसद, दलका नेतालगायलाई समेत हारगुहार गरेर कृषि र अर्थ मन्त्रालयमा घच्घच्याउने काम भइरहेको छ ।”

यो वर्ष उखुको अनुदानका लागि सरकारले दुई अर्व बढी रकम विनियोजन गरेकाले बेलैमा एकमुष्ट रकम पाउनेमा आफूहरु आशावादी नै रहेको मैनालीले बताए । गत वर्ष सरकारले अपुग रकम निकासा गर्दा किसानलाई निकै ढिलो गरी दुई चरणमा उखुको अनुदान रकम वितरण गरिएको थियो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले प्रत्येक चिनी उद्योगबाट उखु क्रसिङको विवरण लिएर मन्त्रालयमा पठाइसकेका छन् । कोलेनिकाले पठाएको किसानको विवरण र उखु क्रसिङको परिमाणलाई आधार मानेर अर्थ मन्त्रालयले कोलेनिकामा नै अनुदान रकम निकासा गर्ने गरेको छ ।

उखु किसान समेत रहनुभएका सर्लाहीको गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले उखुको अनुदानबारे कृषि मन्त्रीको ध्यानाकर्षण गराउन आफू काठमाडौंमै रहेको बताए । उखुको अनुदान रकमबाटै किसानले दशैँ, तीहार, छठजस्ता प्रमुख पर्व मनाउने भएकाले मन्त्रीलाई किसानको गुनासो राखेर फर्किने यादवले उज्यालो अभियानसँग बताए ।