logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लागुऔषधसहित पक्राउ परेका दास पुर्पक्षमा कारागार चलान


  • उज्यालो अभियान

लालबन्दी, ३१ साउन – इलाका प्रहरी कार्यालय लालबन्दीले लागुऔषधसहित पक्राउ गरेको एक युवक पुर्पक्षमा कारागार चलान भएका छन् ।

धनुषाको बटेश्वर गाउँपालिका–४ का ३७ वर्षीय रामप्रसाद दास लागुऔषध मुद्दामा सर्लाही जिल्ला अदालतको आदेश अनुसार कारागार चलान भएका हुन् । गत असार १ गते लागुऔषधको बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा परिचालित लालबन्दी प्रहरीको टोलीले लालबन्दी नगरपालिका १७ रानिगन्जस्थित पूर्व पश्चिम राजमार्गबाट ठूलो परिमाणमा प्रतिवन्धित लागुऔषध बरामद गरेको थियो ।

सवारी साधन रोकेर चेकजाँच गर्नेक्रममा दक्षिणबाट उत्तरतर्फ शंकास्पदरुपमा तीव्र गतिमा आइरहेको मधेश प्रदेश ०२–००६ प २०५७ नम्वरको मोटरसाइकल प्रहरी टोलीलाई देख्नासाथ चालकले आफूसँग भएको झोला फालेर फरार भएका थिए ।

कारागार चलान भएका दास ।

चालकले छाडेर फरार भएको ब्याग र नाइलनको झोलाबाट लागुऔषध नुफिन एक हजार एम्पुल र फेनरागन दुई एमएल लेखिएको ९५० गरी जम्मा १९ सय ५० एम्पुल लागुऔषध बरामद भएको थियो । त्यसपश्चात घटनाको अनुसन्धान गर्दा लागुऔषध ओसारपसारमा संलग्न रामप्रसाद दासलाई प्रहरीले पछि नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानपश्चात सर्लाही जिल्ला अदालतमा बुझाइएका दासलाई हिजो मात्रै पुर्पक्षमा कारागार चलानको आदेश भएको सर्लाही प्रहरीका प्रमुख (एसपी) रवीन्द्रबहादुर सिंहले बताए ।