फाइल तस्बिर ।
बलरा, ३१ साउन – सर्लाहीको बलरा नगरपालिकास्थित मनुष्मारा खोलामा डुबेर बेपत्ता बालिकाको आज पनि बिहानैदेखि खोजी सुरु गरिएको छ ।
बलरा नगरपालिका १ हथियौलका अजय गिरीकी छोरी १२ वर्षीया निशाकुमारी हिजो बिहानदेखि घर छेउकै खोलामा डुबेर बेपत्ता छिन् । बालिकालाई बचाउन जाँदा सोही ठाउँका ६० वर्षीय गजेन्द्र साहको मृत्यु भएको थियो ।
अजय गिरीकै अर्की छोरी १५ वर्षीया पिंकी कुमारी भने पौडी खेलेर सकुशल बाहिर निस्कन सफल भएकी थिईन् । निशाकुमारी भने बाहिर निस्कन सकिनन् ।
उनको हिजो दिनभर स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी भएर खोजी गरे । साँझ अबेरसम्म खोजी गर्दा पनि बालिकाको अवस्था थाहा हुन सकेन ।
सर्लाही प्रहरीका प्रमुख (एसपी) रवीन्द्रबहादुर सिंहले बेपत्ता बालिकाको आज पनि खोजी सुरु गरिएको जानकारी दिए । उनका अनुसार भारततर्फ एक बालिकाको शव भेटिएको भनी खबर आएपछि प्रहरी गएर बुझ्दा सो शब निशाकुमारीको नभएको खुलेको छ ।
हिजो खोलामा पानीको बहाव बढेका बेला बालिकाहरु खोला तर्न खोज्दा घटना भएको स्थानीयले बताएका छन् । घटनास्थल भारतीय सीमा नजिकै पर्ने भएकाले बेपत्ता बालिकालाई बगाएर भारततर्फ पुर्याएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।