logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

रकम चोरी गरी फरार तीन जना पक्राउ


  • उज्यालो अभियान

बागमती, ३० साउन – महोत्तरीको बर्दीबासमा एक वृद्धको साथबाट रकम चोरी गरेर फरार भएका तीन जना सर्लाहीको बागमतीबाट पक्राउ परेका छन् ।

बर्दीवास नगरपालिका–३, बस्ने ७० वर्षीय रेशमबहादुर बलम्पाकी साउन २८ गते बस चढेर सिन्धुलीको भिमानबाट बर्दीबासतर्फ आउँदै गर्दा सोही बसमा सवार तीन जना व्यक्तिले उहाँको साथमा रहेको चार लाख ७० हजार रुपियाँ चोरी गरेर फरार भएका थिए ।

रकम चोरीमा संलग्न ति व्यक्ति धरानबाट नारायणगढका लागि छुटेको बस चढेर सर्लाहीतर्फ आएका थिए । सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले बर्दीबासमा भएको उक्त चोरीमा संलग्न तीन जनालाई बागमती नगरपालिका–१२, स्थित पुतली चोकमा रहेको कालिका होटलमा बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा महोत्तरीको बर्दीबास नगरपालिका–४, का ४० वर्षीय रामबहादुर थिङ, धादिङका ४४ वर्षीय कृष्ण ठकुरी र मोरङको विराटनगर महानगरपालिका–१२, बस्ने ५४ वर्षीय रुपक भुजेल रहेका छन् । प्रहरीले उनीहरुको साथबाट बर्दीबासमा चोरी भएको चार लाख ७० हजार रुपियाँमध्ये दुई लाख २८ हजार ५०० रुपियाँ बरामद गरेको छ ।

अन्य रकम भने केही बैङ्कमा जम्मा गरेको र केही खर्च गरिसकेको उनीहरुले प्रहरी समक्ष बयान दिएका छन् ।

चोरीमा संलग्न तीनै जनालाई कारवाही अघि बढाउन बर्दीबास प्रहरीको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।