नगर अस्पताल लालबन्दी । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी, २९ साउन – सर्लाहीमा केही दिनदेखि मौसमी सङ्क्रमणका बिरामी बढ्न थालेका छन् ।
बेलाबेलामा पानी पर्ने र घाम लाग्ने भइरहँदा जिल्लामा रुघाखोकी र ज्वरोको सङ्क्रमण बढ्न थालेको हो । विशेष गरी पूर्व पश्चिम राजमार्ग क्षेत्रमा मौसमी सङ्क्रमणका बिरामी धेरै देखिन थालेका हुन् । नगर अस्पताल लालबन्दीका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीले अस्पतालमा दैनिक उपचारका लागि आउनेमध्ये ५० जना भन्दा बढीमा मौसमी सङ्क्रमण देखिने गरेको बताए ।
मौसम बद्ली भइरहेकाले पनि मानिसमा स्वास्थ्य समस्या बढेको डा. चौधरीले बताए । उपचारपछि केही दिनमै मौसमी सङ्क्रमण ठीक हुने भएकाले चिकित्सकको सम्पर्कमा आउन उनले आग्रह गरेका छन् ।
पूर्व पश्चिम राजमार्ग क्षेत्रका सरकारी र निजी दुवै स्वास्थ्य संस्थामा रुघाखोकी र ज्वरोको सङ्क्रमण भएका बिरामीको चाप बढ्दो छ । प्रत्येकजसो वडामा रहेका स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रमा पनि बिरामीको चाप बढेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले बताएका छन् ।
प्रादेशिक अस्पताल मलङ्गवाका मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाले मलङ्गवा अस्पतालमा भने मौसमी सङ्क्रमणका बिरामी कमै आइरहेका बताए । उनका अनुसार अस्पतालमा दैनिक विभिन्न स्वास्थ्य समस्या भएका दुई सय जनाको हाराहारीमा बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।