logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

आज साउनको अन्तिम सोमबार, सर्लाहीका शिवालयमा दर्शनार्थीको उत्तिकै भिड


  • उज्यालो अभियान

लालबन्दी, २८ साउन – साउन महिनाको चौंथो अर्थात अन्तिम सोमबार आज पनि सर्लाहीका शिव मन्दिरमा भक्तजनको भिड लागिरहेको छ ।

जिल्लाभरका शिव मन्दिरमा पूजाअर्चना गर्न पुग्ने दर्शनार्थीको बिहानैदेखि चहलपहल देखिएको हो । यहाँको लालबन्दीस्थित अक्लेश्वर महादेव मन्दिर डुमडुमे र जलकेश्वर महादेव मन्दिर पत्थरकोट, हरिवनस्थित सुखेपोखरी महादेव मन्दिर र कैलाशपुरी महादेव मन्दिर, ईश्वरपुरस्थित सागरनाथ महादेव मन्दिर, बरहथवास्थित मुक्तेश्वर बाबाधाम मूर्तिया, हरिपुरस्थित चिताईन मन्दिरसहित प्रत्येक गाउँ टोलका शिव मन्दिरमा भक्तजनको भिड रहेको हाम्रा संवाददाताले जनाएका छन् ।

साउन महिनाभर प्रत्येक शिव मन्दिरमा दर्शनार्थीको यसरी भीड लाग्छ । आज अन्तिम सोमवार भएकाले पनि अधिकांश दर्शनार्थी शिवालय पुगेका छन् ।

सर्लाहीबाट महोत्तरीको टुटेश्वरस्थित टुटेश्वरनाथ मन्दिरमा पनि उत्तिकै संख्यामा दर्शनार्थी पुगिरहेका छन् । अहिले टुटेश्वरस्थित मन्दिर दर्शन तथा बर्दिवासमा महायज्ञमा सर्लाहीबाट सहभागी हुने धेरै छन् ।

साउन सक्किनै लाग्दा अब पूर्व पश्चिम राजमार्गमा बोलबम यात्री घट्दै जान्छन् । तर अझैपनि स्थानीय तथा भारतीय तिर्थालुको राजमार्गमा आउजाउ जारी नै छ ।

साउन महिनाभर यहाँको हाटबजार तथा ग्रामीण घुम्ती व्यवसायमा चुरा, पोते, मेहेन्दीलगायत श्रृङ्गारका सामग्रीको राम्रो किनबेच भएको छ ।